मेचीनगर/ कार्यालय समयमा स्वास्थ्य चौकी काँकडभिट्टाका प्रमुखलगायत कर्मचारी कार्याकक्षमा नभेटिएको विषयमा सम्बन्धित निकायसमेत ‘सामान्य रहेको’ भन्दै पन्छिने गरेका छन् ।
कार्यालय समयमा नबसेको विषयमा कारबाही गर्नुको सट्टा उल्टो बचाउ गर्दै ‘सामान्य’ भएको प्रतिक्रिया ब्लाष्टकर्मीलाई दिएका छन् । केही दिनअघि कार्यालयमा कर्मचारी नभेटिएको विषयमा ‘सुनसान स्वास्थ्यचौकी’ शीर्षकमा ब्लाष्टमा समाचार प्रकाशित भएको थियो ।
दिउँसो ३ बजे कार्यालयमा ब्लाष्टकर्मी पुग्दा कार्यालय खाली–खाली अवस्थामा भेटिएको थियो । त्यस विषयमा पुनः फलोअपका लागि मेचीनगर नगरपालिककाकी स्वास्थ्य विभाग प्रमुख शशिकला राईले सामान्य भएको प्रतिक्रिया दिइन् ।
उनले ब्लाष्टकर्मीको प्रश्नमा ‘यो कुनै ठूलो विषय होइन, हामीले कर्मचारीलाई बोलाएर औपचारिकरूपमा सतर्क गराउने काम गरियो, पहिलो पटक भएकाले हामीले उहाँहरूलाई सुध्रिने अवसर दिएका छौं ।’ स्वास्थ्य चौकीका प्रमुख तालबहादुर खड्का, स्वास्थ्यकर्मी लेखनाथ खतिवडालगायत अन्य कर्मचारीहरू कार्यालयमा नरहेको पाइएको थियो ।
कारबाही गर्ने निकायले नै चासो नदिएका कारण पनि सेवाग्राहीहरूले सास्ती खेप्ने गरेका छन् ।