विराटनगर /  विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बावुराम तिम्सिनाले शैक्षिक सामाग्र खरिदमा अनियमितता गरेको आरोप लगाउदैै विभिन्न विद्यार्थी संगठनहरुले कार्यकक्ष मै दुई घण्टा थुनिदिएका छन् । जनकपुरमा कार्यकक्षमै क्याम्पस प्रमुखलाई कालो मोसो लगाएको भोली पल्ट विराटनगरमा विद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन् ।
चार विद्यार्थी संगठनले सोमबार दुई घण्टा क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेपछि मंगलबार विहान ११ बजे बार्ता गर्ने सहमति भएपछि छाडिएको छ ।

क्याम्पस प्रमुख कार्यकक्षमा लगाएको तालाबन्दी खोलिए पनि विद्यार्थी संगठनले माग पुरा नभएसम्म क्याम्पस प्रशासनमा लगाएको तालाबन्दी भने जारी रहेको विद्यार्थी नेता अभिमन्यु यादवले बताए ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नयाँ शक्ति निकट विद्यार्थी संगठनको महेन्द्रमोरङ क्याम्पस इकाइ कमिटि आबद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेर तालाबन्दी गरेका हुन् । साढे ३ बजे क्याम्पस प्रमुख विरुद्ध नाराबाजी गर्दै गएका उनीहरुले तोडफोड गर्नुका साथै तालाबन्दी गरेका थिए ।  विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठा अघिल्लतिर रहेको सभाकक्षको कुर्सी टेबुल र नेम प्लेट तोडफोड गरी कोठाका पर्दाहरु च्यातेर फालिदिएका थिए ।

यस्तो छ अनियमितताको आरोप
केही महिनायता क्याम्पसका लागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्री खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । १ करोड बढीको सामाग्री खरीद गरिए पनि कमिशनको लोभमा ४÷४ लाखको कोटेशनबाट ती सामाग्री खरीद गरएको उनीहरुको आरोप छ ।
क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारका लागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर विक्रि गरिएको विद्यार्थी नेता जसवन्त पौडेलले आरोप लगाए ।
तालाबन्दी गरि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले क्याम्पस परिसरमै निर्माणाधिन साइन्स ब्लकमा मिलेमतोको कारण तीन नम्बरको इट्टा प्रयोग गर्नुका साथै कमसल सामाग्री प्रयोग गरिएको र शैक्षिक भ्रमणको नाममा अनियमितता गरिएको आरोप लगाएका छन् । उनीहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिन समेत माग गरे ।
यता क्याम्पस प्रमुख तिम्सिनाले भने विद्यार्थीहरूले झुटा आरोप लगाएको दाबी गरे । उनले क्याम्पसको पैसाँ अनियमितता गरेको देखिए राजिनामा दिने बताएका छन् ।