दमक/झापाको गौरिगञ्ज दक्षिण सीमाक्षेत्र फत्तेपुर स्थित दशगजा क्षेत्रमा वर्षौदेखि भारतीय नागरिकले घर निर्माण गरेर बस्ती बसाले पनि नेपाल सरकारले हटाउन सकेको छैन ।

भारतको बिहार राज्यको किसनगञ्ज पञ्चायतको फत्तेपुरमा भारतीय नागरिकले दश गजा क्षेत्रमा ६० भन्दा बढी घर निर्माण गरी बसोबास गर्दै आएका छन् । दुई देशको सीमा क्षेत्रमा कम्तिमा दश मिटर क्षेत्र दुवै देशले उपभोग गर्न तथा भौतिक संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय नियम रहेको भए पनि नेपालको तर्फबाट सीमा क्षेत्रबाट बलियो उपस्थिति नहुँदा भारतीय पक्षबाट अतिक्रमण भएको हो ।

झापाको गौरिगञ्जस्थित फत्तेपुरका बिरेन चौधरी यो क्षेत्रमा वर्षौदेखि भारतीय नागरिकले दशगजा मिचेर बसोबास गरिरहेको जानकारी दिए । गत आर्थिक वर्षमा त भारतले दश गजा नै मिचेर राजमार्ग पिच गर्न शुरु गरेको थियो ।

भारतले यो क्षेत्रमा राजमार्ग निर्माण गर्न ४८ लाख भारतीय रुपैयाँ विनियोजननै गरेको थियो । तर स्थानीयले विरोध गरेपछि काम रोकिएको चौधरीले बताए । तर सरकारीस्तरबाट भने हालसम्म पहल नभएको उनीहरूको गुनासो छ । सडक निर्माणको काम रोकिए पनि दशगजा अतिक्रमण नरोकिएको स्थानीयको दाबी छ ।

अहिले यही बस्तिलाई आधार बनाएर सीमा क्षेत्रमा पुनः भारतको तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) ले क्याम्प राख्ने तयारी गरिरहेको स्थानीय बताउँछन् । भारतको तर्फबाट सीमा सुरक्षाका लागि बलियो उपस्थिति देखिए पनि नेपालको तर्फबाट कुनै पहल नभएकोप्रति नेपालीहरूको गुनासो छ ।

भारतीय पक्षबाट पटक–पटक सीमा क्षेत्रमा अतिक्रमण हुनुमा नेपालको सीमा सुरक्षाको अवस्था कमजोर भएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार सीमा क्षेत्र यकिन गर्न नेपाल र भारतका प्राविधिकसहितको टोलीले डिजीटल नक्शा तयार गरिसकेको छ ।

अब चाँडैे यो नक्साको आधारमा भारतीय पक्षसँग संयुक्त सीमा अनुगमन गरिने प्रजिअ दाहालको भनाइ छ । झापा जिल्लामा मात्र १४४ किलो मिटर दुरी सीमा भारतीय सीमा क्षेत्रसँग जोडिएको छ ।

नेपाल–भारतबीच खुल्ला सीमाको फाइदा उठाउँदै दशगजानै नदेखिने गरी खेती गर्दै आएका छन् । यसलाई चाँडै गुगल म्याप जिपीएसको प्रयोगबाट तयार गरिएको डिजीटल नक्साको आधारमा सीमा स्तम्भ निर्माण गर्ने र दश गजा खाली गरिने प्रजिअ दाहालले जानकारी दिए ।

झापाको संवेदनशील क्षेत्रलाई प्राथमिकता दिएर नेपालले पनि अब चाँडै सीमा सुरक्षा फोर्स खटाउने तयारी गरेको छ । बोर्ड अफ पोष्ट नाम दिएको सीमा सुरक्षाका लागि जिल्लाको दश स्थानमा स्थापना गरिने छ । प्रत्येक तीन–तीन किलोमिटरको दूरीमा एउटा बोर्डर आउट पोष्ट राख्ने तयारी भइरहेको छ ।

झापामा चारवटा गाउँपालिका सीमा क्षेत्र जोडिएको छ भने दुई नगरपालिका छन् । गाउँपालिकाको सीमा क्षेत्र बढी संवेदनशील मानिन्छन् ।