पथरीशनिश्चरे/ देशव्यापी आन्दोलन अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरस्थित नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समितिमार्फत पनि ३ वुँदे माग सहित कर्मचारीहरुले नगरपालिका कार्यालयको कामकाज रोकेर पेन डाउन आन्दोलनमा उत्रिएका छन् ।

समितिको आव्हानमा बिहीबार विहानैदेखि काम नगरी हात र टाउकामा कालोपट्टी वाँधेका कर्मचारीहरुको दिउँसो ३ बजेसम्म पेन डाउनको कार्यक्रम रहेको समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले जनाएका छन् । वडा नम्बर ५ र ६ का कर्मचारीले पनि उसैगरी पेन डाउन गरेका छन् ।

पेन डाउनका कारण नगरमा आंशिक मात्र सेवाग्राहीको काम हुनपुगेको छ । बुधबार पनि दिउँसो २ बजेसम्म नगरपालिका कार्यालयमा पेन डाउन भएको थियो ।

स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिको देशव्यापी आन्दोलन अन्तर्गत स्थानीय तहमा अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको अधिकारमा जोड दिँदै ३ बुँदे ज्ञापनपत्र समेत पालिकाहरुमा पेश गरेका थिए ।

ज्ञापनपत्रमा, संघीय निजामति कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा अपनाइने सिद्धान्त, व्यवहार र मापदण्डकै आधारमा साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई समेत संविधान अनुरुप समायोजन गर्नेगरी अध्यादेशमा संसोधनको माग गरिएको छ ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीको सर्वाेच्च अदालतको आदेशका आधारमा प्रतिष्पर्धामार्फत स्थायी गर्ने र सेवा अवधि गणनाका आधारमा हुने बृत्तीविकाको सुनिश्चित गर्ने अर्काे माग रहेको छ ।

साथै फोहोरमैला तथा सरसफाईका क्षेत्रमा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको प्रत्याभूति गरी नीजि क्षेत्रमा उनीहरुलाई नलगी रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि माग राखिएको छ ।