ताप्लेजुङ/ राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनालाई जतिसक्दो धेरै प्रवाह गर्न सार्वजनिक सेवा प्रदायकहरुलाई आग्रह गरेकी छन् । आयोगले विहिबार ताप्लेजुङमा आयोजना गरेको कार्यक्रममा तिम्सिनाले सूचनाको हकको कार्यान्वयनमा सेवा प्रदायककै भूमिका महत्वपूर्ण रहेको बताएकी हुन् ।
‘माग्नै आउँदैनन्, आए दिउँला भनेर नबस्नुस्,’ जिल्लाका कार्यालय प्रमुख र सूचना अधिकारी सहभागि कार्यक्रममा उनले भनिन्,‘जसरी भएपनि आफ्ना कार्यालयका सूचनालाई नागरिकमाझ पुर्याउनु तपाईहरुको कर्तव्य हो ।’ कार्यालय प्रमुख र सूचना अधिकारीहरुले सूचना माग्न पत्रकार बाहेक अरु नआउने बताएका छन् ।
आफूहरुले कोहि माग्न आए दिने र वेबसाइट तथा सामाजिक सञ्जालमा सूचनाहरु राख्ने गरेको उनिहरुको भनाई थियो । आयुक्त तिम्सिनाले सेवाग्राहिप्रति रुखो व्यवहार नगर्न कर्मचारीलाई आग्रह गरिन् ।
‘तपाईहरुको व्यवहारले नागरिकले कर्मचारीलाई हेर्ने नजर नकरात्मक छ,’ सरकारी कर्मचारीले तत्काल हुने काम तत्कालै गरेको उदाहरण अत्यन्तै कम रहेको भन्दै तिम्सिनाले भनिन्,‘जसरी भएपनि कार्यालयमा आएको सेवाग्राईलाई खुसी पार्न सक्नुपर्छ ।’
मुलुक संघिय संरचनामा गइसक्दा समेत सर्वसाधारणलाई सूचनाको हकको बारेमा जानकारी नभएकाले अब सूचना आयोग जनता जगाउन लागिपर्ने उनले बताइन् ।