उर्लाबारी/ वडादेखि सङ्घीय संसदसम्म निर्वाचित जनप्रनिधीहरूको सेवासुविधानका विषयमा सबत्र आलोचना भइरहेका बेला उर्लाबारीका आधा दर्जन जनप्रतिनिधिले आफूले पाएको सेवासुविधाले शैक्षिक, धार्मिक तथा विपन्न समुदायका लागि रकम खर्चेका छन् ।

जनताका सेवाका लागि निर्वाचित भएको भन्दै नगरपालिकाबाट आर्थिक वर्ष २०७४/०७५ मा प्राप्त रकम स्थानीय विद्यालय, मन्दिर र प्राविधिक शिक्षाका लागि हस्तान्तरण गरेका हुन् ।

उर्लाबारी–६ वडाध्यक्ष चिन्तामणी पौडेल तथा महिला सदस्य दुर्गावती लिम्बू सुब्बा, ५ नम्बर वडाध्यक्ष तथा नगर प्रवक्ता भानुभक्त शर्मा पराजुली, ३ नम्बर वडाका सदस्य सोमप्रसाद तिम्सिना र ७ नम्बर वडाका नगर कार्यपालिका सदस्य कृष्ण बर्देवाले आफूले सुविधाबापत् पाएको रकम हस्तान्तरण गरेका हुन् ।

६ नम्बर वडाध्यक्ष पौडेलले आफूले पढेको राधिका माविलाई २ लाख ८१ हजारमा थप १ लाख १९ हजार थप गरी ४ लाख रुपैँया अक्षय कोषका लागि हस्तान्रतण गरेका हुन् । उनले सबै वाडध्यक्षहरूलाई नगरपालिकाले दिएको मोटरसाइकलसमेत आवश्यक नपर्ने भन्दै फिर्ता गरेका बताए ।

उनले मतदाताको घरदैलामो पुगेर भोट माग्दा जुन प्रतिवद्धता जनाइएको थियो सोहीअनुसार आफूले सुविधा नलिएको जनप्रतिनिधिले बताएका छन् ।

यसैगरी ५ का अध्यक्ष तथा प्रवक्ता पराजुलीले नगरपालिकाले उपलब्ध गराएको सवारी प्रयोग नगरेको बताए । ३ का सदस्य तिम्सीनाले पनि आफूले गत नगरपालिकाबाट प्राप्त गरेको रकम स्थानीय दुर्गा माविलाई हस्तान्तरण गरेको बताए ।

सिभिल इञ्जिनियर पढाइ हुने स्कुलमा उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै १ लाख २५ हजार ५ सय रुपैयाँ विद्यालयलाई प्रदान गरेका हुन् ।

नगर कार्यपालीकाका सदस्य बर्देवाले पनि प्राप्त सेवा सुविधा स्थानीय राधिका माविलाई प्रदान गर्दै आएको र आगामी चारवर्षसम्म विद्यालयलाई रकम दिइरहने बताए । उनले विद्यालयलाई १ लाख ११ हजार प्रदान गरेका छन् ।

वाड सदस्य लिम्बूले पनि नगरपालिकाबाट प्राप्त १ लाख १ लाख २५ हजार मध्ये १ लाख सिद्धेश्वर बाबा धाम उर्लाबारीलाई २५ हजार दिन दुखीलाई प्रदान गरेको बताए ।