धरान । सामाजिक सञ्जाल फेसबुकमा एउटा समूह छ, ‘मेन्स रूम रिलोडेड’ । यो समूहमा एक लाख २ हजारभन्दा बढी साथीहरू एकअर्कासँग जोडिएका छन् ।

देशमात्रै हैन, विदेशसम्म जोडिएको ‘मेन्स रूम रिलोडेड’ को उद्देश्य सामाजिक काम गर्नु हो । यही क्रममा समूहले सोमबार धरानको बौद्धिक अपाङ्ग (सुस्त मनस्थिति) बाल कल्याण विद्यालयलाई शैक्षिक सामग्रीसहित १२ विद्यार्थी लाई विद्यालयको पोशाक, जुत्तादेखि व्यागसम्म वितरण गरेको छ ।

समूहका सदस्य सांरस ढुङ्गानाका अनुसार झण्डै ४० हजार रुपैयाँ बराबरको सामग्री स्कुलका विद्यार्थीहरूलाई प्रदान गरिएको हो । विद्यालयमा हाल धरान भरीका झण्डै ५६ जना विद्यार्थीहरू अध्ययरत छन् । सीमित स्रोतसाधनबाट सञ्चालनमा रहेको विद्यालयको अवस्था नाजुक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मगराती बताउँछन् । उनले समूहका सदस्यहरूलाई धन्यवाद दिए ।

विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजरलगायतका सामग्री वितरण गरेको हो । यो समूहलाई अष्ट्रेलियामा रहेका सदस्यहरूले पठाएको रकमले विद्यालयलाई सहयोग गरिएको ढुङ्गाना बताउँछन् । ‘मेन्स रूम रिलोडेड’ युवाहरूको समूह हो । यसले सामाजिक कार्य गर्दै आइरहेको ढुङ्गानाले प्रकाश पारे ।