तेह्रथुम/ चिसो बढ्न थालेपछि तमोर नदीमा र्याफ्टिङका लागि आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको तमोर नदीमा आउने पर्यटकको सङ्ख्या चिसो बढेसँगै घट्न थालेको हो । असोज महिनादेखि यो बाटो हुँदै र्याफ्टिङका लागि आउने पर्यटकको सङ्ख्यामा कमी आएको पर्यटन व्यवसायी बताउँछन् ।
यो सिजनमा वसन्तपुरको बाटो भएर पर्यटक र्याफ्टिङका लागि तमोर नदीमा कमैमात्र गइरहेका छन् । जसले गर्दा यस भेगको पर्यटन व्यवसाय खस्किएको पर्यटन व्यवसायी छिरिङ लामाले बताए । असोज महिना शुरु भएसँगै आउने पर्यटकहरू यो सिजनमा कममात्र देखा परेको गुफा बजारमा रहेको दार्जिलिङ होटलका सञ्चालक नार्के भोटेले बताए ।
अघिल्ला महिनाहरूमा यो पदमार्ग भएर विभिन्न देशका पर्यटकहरू तमोर नदीतर्फ जलयात्राका लागि बोट साथैमा लिएर जाने गरेको भए पनि यो सिजनमा पर्यटकको सङ्ख्या न्यून देखिन थालेको भोटेको भनाइ छ ।
पछिल्लो समय काठमाडौं र धरानका विभिन्न ट्राभल्स एजेन्सीले पर्यटकलाई स्थल मार्गमार्फत सार्वजनिक यातायातका साधन रिजर्भ गरेर वसन्तपुरसम्म साथैमा लिएर आउने गरेकाले यस क्षेत्रमा पर्यटकको चाप बढेको थियो । तर यो सिजनमा र्याफ्टिङका लागि आएका बाह्य पर्यटकको सङ्ख्या एकदमै न्यून रहेको पर्यटन व्यवसायी धर्मराज खड्काले बताए ।
काठमाडौंबाट सिधै हवाई यात्राबाट ताप्लेजुङ पुग्न सजिलो भए पनि पर्यटक रमणीय गुराँसभूमि तीनजुरे, मिल्के, जलजले क्षेत्रको दृश्यावलोकन गर्दै वसन्तपुरको बाटो भएर पदयात्रा गर्न मन पराउने गरेको हिडन साङ्ग्रिला ट्रेकिङ एक्स्पिडिसन प्रालि काठमाडौंका गाइड अच्युत गौतमले बताए ।
बाहै्र महिना चिसो र ठण्डा हावापानी रहने वसन्तपुर काठमाडौंबाट छुटेका पर्यटकको पहिलो गन्तव्य हो । तमोर नदीमा र्याफटिङका लागि स्वीजरल्याण्ड, अमेरिका, स्वीडेन, इङलेन्ड, फ्रान्सलगायतका देशका पर्यटक वसन्तपुरको पदमार्ग भएर तमोर नदीतर्फ जाने गर्दछन् ।
तर, यहाँ आउने पर्यटकको रेकर्ड अहिलेसम्म कुनै सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राख्ने गरेका छैनन् । हवाई यात्राको तुलनामा स्थल मार्ग भएर आउँदा कम खर्चिलो र प्राकृतिक सौन्दर्यको आनन्द पनि एकै साथ लिन पाइने भएकाले पर्यटकले सम्भव भएसम्म स्थल मार्गलाई नै रोज्ने गरेका छन् ।
वसन्तपुरलाई पहिलो गन्तव्य बनाएर आउने पर्यटकले वसन्तपुरदेखि तमोर नदीको शिर दोभानसम्म तीन दिन पैदल यात्रा गरी त्यसपछि चार दिनसम्म तमोर नदीमा जलयात्रा गर्दै सुनकोशी नदीमा पुगेर टुङ्ग्याउने गर्दछन् । अन्य नदीको तुलनामा तमोर नदीमा र्याफटिङ गर्नु धेरै रमाइलो हुने गरेको अमेरिकाबाट आएका निक्की न्युरो नाम बताउने पर्यटकले भने ।
तमोर नदी केही उचाइबाट बगेको र भिरालो समेत भएकाले यो नदीको जलयात्रा जोखिमयुक्त पनि मानिने उनको भनाइ छ । केही वर्षअघिसम्म हवाई यात्राबाट सिधै ताप्लेजुङको तुम्लिङटार उत्रिने गरेका पर्यटक वसन्तपुर हुँदै दोभानसम्मै सडक मार्ग बनिसकेकाले यतैबाट आउन थालेका छन् ।
काठमाडौंमा रहेका विभिन्न ट्राभल्सहरूले आफ्नै सवारी साधनमा राखेर समेत पर्यटक लिएर आउने गरेका छन् ।