उदयपुर/ उदयपुरको उत्तरबारी बस्तीमा विद्युत पुगे पनि भोल्टेज नपुग्दा गाउँबासी अन्धाकारमा बस्न बाध्य छन् ।

त्रियुगा नगरपालिका–८ र ९ मा पर्ने उत्तरबारी बस्तीका बासिन्दाहरू २ वर्षदेखि विद्युत्को भोल्टेज नपुग्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रमा पटक–पटक निवेदन दिँदा पनि वेवास्ताका कारण यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।

विद्युत् पुगे पनि अन्धकारमा बस्न बाध्य बनेको पूर्व उपयेयर रामबती चौधरीले बताइन् । त्यसका लागि ध्यानाकर्षन गर्न समिति नै बनेको छ । समितिको संयोजकमा चौधरी आफै छिन् । तर, बारम्बार ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको उनी बताउँछिन् ।

विद्युत विस्तार गर्दा ४ फेजको लाईन लानु पर्नेमा २ फेजको मात्रै लगेको त्यसमा पनि ट्रान्स्मिटर नै नराखी निकै टाढाबाट लगिएकाले बत्ति नबल्ने, गर्मीमा पङ्खा नचल्नेजस्ता समस्या आउने गरेको चौधरीले बताइन् ।

विद्युत वितरण कार्यालयले आफ्नो वडामा काम गर्दा कुनै किसिमको जानकारी र समन्वयन नगरेकोले जनताहरुले दुःख पाएको त्रिनपा–८ का वडाध्यक्ष कमलकुमार राउतले बताए । नयाँ बस्ती तथा विद्युत नपुगेको टोलमा वडा कार्यालयले पोलको व्यावस्था गरेको भए पनि पुरानो काठको पोललाई विद्युत कार्यालयले नै फेर्नु पर्ने राउतको भनाई छ ।

पटक पटक निवेदन तथा मौखिक जानकारी गराए पनि सम्बन्धित निकायले वास्ता नगरेको उत्तरबस्तीका सर्वसाधरण सर्वन चौधरीले बताए । बत्ति नबले पछि सिचाई गर्न ल्याएको मोटर तेतिकै थन्किएको चौधरीले बताए ।

‘बेलुका बत्ति बल्दैन, राति १२ बजेपछि बल्छ त्यति बेला के गर्नु ?’ चौधरीले भने, ‘विद्युत्को महसुल भने महिनै पछि तिरीराको छौँ ।’