धरान/ प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले ३३९ वटा बाझिएका कानून परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।
सभामुख भण्डारीले धरानमा सोमबार पूर्वाञ्चल इसाई समाज र ख्रीष्टीय समाज धरानले गरेको नववर्ष तथा ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमका क्रममा सबै जातजाति, धर्मालम्बीले अपनत्व गर्ने गरिको कानून बनाउनुपर्ने बताएका हुन् ।
उनले कानून नबनिञ्जेलसम्म अप्ठ्यारो पर्ने बताए । उनले संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने भन्ने किटान गरेकाले कार्यान्वयन पनि त्यहीअनुसार गर्न सरकारलाई सुझाव दिए । उनले आफूलाई सबैले सरकारको मान्छे भने पनि आफू सरकारको मान्छे नभएको स्पष्ट पारे ।
उनले संविधानले व्यवस्था गरेको अधिकार आउँदो वर्षबाट लागू हुने अवस्था सिर्जना गरिनुपर्ने बताए ।
उनले लामो बिदाहरू कटौती गरेर अन्य बिदालाई यथावत राख्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए । त्यसक्रममा पूर्वाञ्चल इसाई समाजका अध्यक्ष पाष्टर कुवेर गुरूङले धर्म निरपेक्ष भए पनि कानून धर्म निरपेक्षअनुसार नभएकाले कानून संसोधन गर्नुपर्ने बताए । उनले धर्म निरपेक्षअनुसारको कानून बन्नुपर्नेमा जोड दिए ।
धार्मिक अल्पसङ्ख्यकहरूलाई पनि अटाउने गरीको कानूनहरू ल्याइनुपर्ने तर्क गरे । कार्यक्रममा अन्तरधार्मिक सञ्जाल महासङ्घका संयोजक रामभक्त कुरूङ्भाङले सञ्जालले दिगो शान्ति र समतामूलक समाजको परिकल्पना गरेको बताए ।
संविधानमा कतिपय विषयमा पूर्णता भए पनि कतिपय विषय अपूर्णता कायमै रहेकाले त्यहीअनुसारको कानून निर्माण हुदा त्यसैको प्रतिबिम्बित भएर आएको बताए । उनले सबै जातजाति, धर्मालम्बीहरूलाई अटाउने गरीको कानूनहरू निर्माण गरिनुपर्ने बताए ।
उनले आस्थाले जे भए पनि सबैले आफू नेपाली हो भन्ने कुरा चाहिँ भुल्न नहुने जिकिर गरे । कार्यक्रममा प्रदेश १ का सांसद् तथा सचेतक सीता थेवे, अन्तरधार्मिक शान्ति सञ्जालका बौद्ध समुदायबाट प्रतिनिधित्व गर्दै मित्रसेन योञ्जन, हिन्दुबाट राजेन्द्रकुमार ढकाल, इस्लामबाट साजन मियाँ, धरान ख्रीष्टीय समाजका अध्यक्ष शमूयल राईलगायतले बोलेका थिए ।