दमक/ थर एउटै, हेर्दा मान्छे उस्तै, भाषा एउटै, बिहान उठेदेखि नसुतिन्जेलसम्म उनीसँगैको उठबस । तेतीमात्र होइन खेतबारीमा पर्मपातसँगै, खानपान रहन सहन सबै एउटै ।

आवतजावत गर्ने बाटो पनि खुल्ला । यतिका सम्बन्ध हुँदा पनि उनीहरु बीचमा वर्षैदेखिको एउटा फरक परिचय कायम छ त्यो हो नागरिता । सीमा क्षेत्रको दशगजा अर्थात दश मिटर सीमा क्षेत्रले उनीहरुलाई नेपाली र भारतीय नागरिकको परिचय दिएकोछ । उनीलाई छुट्याउने एउटै ठुलो आधार हो दुई दशगजा ।

यही दशगजाले उनीहरुलाई नेपाली र भारतका नागरिक भनेर छुट्याउने गर्दछ । वर्षोदेखि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली र भारतीय नागरिक बीचमा यति घनिष्ट सम्बन्ध छ कि उनीहरुलाई हामी फरक देशका नागरिक हौ भन्ने लाग्दैन ।

नेपालको झापा जिल्ला गौरिगञ्ज गाउपालिका ५ स्थित फक्तेपुर भारतको बिहार राज्य अन्र्तगत किसनगञ्ज पञ्चायतको फत्तेपुर एउटै गाउँ हो । दुइदेशको सीमा क्षेत्रमा रहेको यो गाउँलाई नेपाल र भारतमा फत्तेपुर नै भनेर एउटै नामले चिनिन्छ । सीमा क्षेत्रमा बसोवास गर्ने नागरिक बीच अचम्मको सद्भाव रहदै आएको छ ।

भारतको फत्तेपुरका झ्याम्लु शर्मा पुस्तौंदेखि यो क्षेत्रमा बस्ने दुईदेशका नागरिक बीचमा सम्बन्ध नजिकको रहेको बताउँछन् । आधा जति वैवाहिक सम्बन्ध नाता कुटुम्ब बिदेशमा नै रहेको छ । झापाको गौरिगञ्ज फत्तेपुरका मोहनलाल गनगाईले बहिनीलाई विवाह गरेर भारत पठाएका छन् ।

उनीजस्तै धेरैका नाता कुटुम्ब भारतमा रहेका छन् । सीमा क्षेत्रका आफन्तहरु धेरै नेपालमा रहेका छन् । दुवै देशको यो सीमावर्ती गाउमा फत्तेपुरमा खासगरि गन्गाई, राजवंशी, ताजपु्रिया, सन्थाल, यादव, चौधरी, लगायतका जातीको बसोबास रहेको छ ।

सम्बन्धको हिसाब केही नजिक भएपनि यो क्षेत्रमा केही वर्ष अघिसम्म चोरी लुटपाटका घटनाले हैरान हुने गरेका थिए । पछिल्लो समय सीमा क्षेत्रमा भारतले सीमा सुरक्षा बल एसएसबी राखेको छ । यसले सीमा क्षेत्रमा धेरै सुरक्षित महसुश गरिएको स्थानीय बिरेन चौधरी बताउँछन् ।

यस अघिसम्म त सीमा क्षेत्रमा हु्ने लुटपाट चोरी तस्करी बिरुद्ध मिलेर लड्ने गदछौ । बसोवास गर्ने दुईदेश बीचका जनताको परिचय फरक भएपनि गरिखाने खेतीपाति भने धेरै जसो भारतीय नागरिकले नेपालको भूमी नै प्रयोग गर्ने गरेका छन् । नेपाली युवा रोजगारका लागि भारतका बिभिन्न स्थानमा जाने गरेका छन् ।

यस्तो सम्बन्ध हुँदाहुदै पनि सीमा रेखाको सुरक्षामा भने नेपाली समुदाय सचेत रहेका छन् । घरीघरी भारतीय पक्षबाट हुने सीमा अतिक्रमणका बिरुद्धमा स्थानीयले आवाज उठाउने गरेका छन् । दुइदेशका धेरैकोे नाता सम्बन्ध र आफन्त भएकाले नाका क्षेत्रमा केही स्थानीयहरु सीमाको बिषयलाई वास्ता नगर्ने गरेको बताउछन् ।

सीमा क्षेत्रमा भारतको केही टाढाका लुटेराहरुले निशाना बनाउने गरेका छन् ।