पाँचथर/ फिदिम नगरपालिका–५, सल्लेरीस्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार स्कुल ब्याग र स्वेटर लगायतका सामग्री वितरण गरिएको छ ।
सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी र स्थानीयको एक समूहले सामाजिक सञ्जाल फेसबुकको सहायताले रकम सङ्कलन गरी सामग्री खरिद गरेर वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत कक्षा १–३ सम्मका २४ जना छात्र–छात्रालाई स्कुल ब्याग, स्वेटर र कापी–कलम वितरण गरिएको हो ।
त्यस्तै कक्षा ४ र ५ मा अध्ययनरत १७ जना छात्र–छात्रालाई स्वेटर र कापी–कलम वितरण गरिएको सामग्री वितरण अभियानमा सक्रिय फबिन तुम्बापोले बताए ।
त्यस्तै फुटबललगायतका अन्य खेलकुदका सामग्री, फोहोर फाल्ने डस्टबिन, घण्टी, भित्ते घडी, विद्यार्थीका लागि उपयोगी पुस्तक लगायतका सामग्री गरी ४० हजार बराबरको सामग्री वितरण गरिएको पूर्व विद्यार्थी गणेश ढुङ्गेलले बताए ।
सामग्री वितरण समूहका सदस्य फबिन तुम्बापोका अनुसार देश तथा विदेशमा रहेका २१ जना व्यक्तिबाट सो रकम सङ्कलन गरिएको हो ।
सामग्रीहरू सोमबार विद्यालयमै आयोजित एक कार्यक्रमकाबीच प”र्व विद्यार्थी गणेश ढुङ्गेल, मात्रिका खतिवडा, ओमकाजी श्रेष्ठ, रुमा ढुङ्गेल र धनबहादुर आचार्यको उपस्थितिमा सामग्री वितरण गरिएको थियो । साविक चोकमागु गाविसका पूर्व अध्यक्ष वीरेन्द्र तुम्बापो, फिदिम नगरपालिका–५, का वडा अध्यक्ष लीलाराज तुम्बापो लगायतले सामग्री वितरण गरेका थिए ।
जाडोको सिजनमा न्यानो लुगा, स्कुल ब्याग र शैक्षिक सामग्री पाउँदा विद्यार्थी हर्षित भएका छन् । कार्यक्रममा विद्यार्थी र विद्यालयका लागि सामग्री वितरण गर्ने पूर्व विद्यार्थी लगायतको टिमलाई प्रधानाध्यापक कमलप्रसाद अर्यालले धन्यवाद दिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विचारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सामग्री वितरण अभियानमा सक्रिय इन्द्र तुम्बापोले बताए ।