विराटनगर/ राष्टूपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा दिन नसक्दा युवाहरु अध्ययनका लागि विदेश पलायन हुने अवस्था अन्त्य गर्न विश्वविद्यालयले योगदान गर्नुपर्ने बताएकी छिन् । देशको उत्पादन प्रणालीसँग शिक्षालाई सहि ढंगले जोड्न नसक्दा युवाहरु रोजगारीकालागि विदेश पलायन हुने तथा स्वदेशमा दक्ष जनशक्ती अभाव हुने अवस्था आएको राष्टूपति भण्डारीले बताइन् ।

विराटनगरस्थित केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव समारोहको विहीबर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्ने बताइन् । उनले शिक्षा क्षेत्रका चुनौती समाधान गरि गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक सस्था आग्रसर भएर लाग्नुपर्नेमा जोड दिइन् ।

‘विश्वविद्यालय ज्ञान, विज्ञान, अध्ययन, अनुसंद्दान, संस्कार, संस्कृति, चिन्तन र मननको अनुपम केन्द्र हो,’ उनले भनिन्, ‘विश्वविद्यालयले आजको युगले मागे अनुसारको अध्ययन अध्यापनलाई अघि बढाउनुपर्दछ ।’ पूर्वी नेपाल अपार प्रकृतिको धनी तथा अन्न भण्डारको रुपमा रहेको हुँदा त्यसको सदुपयोग गरेर समृद्धी प्राप्त गर्ने अभियानलाई विश्वविद्यालयले नेतृत्व गर्नुपर्ने उनले बताइन् ।

यतिबेला बलियो र स्थिर सरकार रहेको बेला त्यस्तो सकारात्मक अवसरलाई सबैले सदुपयोग गरेर अघि बढ्नु पर्ने उनको भनाई थियो ।

सुदृढ अर्थतन्त्रसहित स्वाधिन नेपाल निर्माण गर्ने महान अभियानमा जुट्ने सबै पक्षलाई आफ्नो साथ र सहयोग रहने राष्टूपतिले बताइन् । गोठगाउँमा रहेको आफ्नो पूर्वाधार र संरचनाहरुलाई सदुपयोग गरेर विश्वविद्यालयलाई स्तरीय बनाउन जरुरी रहेको तर्फ संकेत गर्दै उनले त्यस तर्फ विश्वविद्यालय अघि बढेकोमा खुसि व्यक्त गरिन् ।

कार्यक्रमलाई बोल्दै संघिय सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले हिजोको ढर्राबाट विश्वविद्यालय चल्न नसक्ने भन्दै पारदर्शिता र सुशासन स्थापना गर्न आवश्यक रहेको बताए । उनले विश्वविद्यालयको अथाहा जमिन र संरचना भएको गोठगाउँलाई मुख्य केन्द्र बनाउन आवश्यक भएको बताए ।

विश्वविद्यालयले १ सय २१ क्याम्पसलाई सम्बन्धन दिएको भएपनि विद्यार्थी संख्या अत्यन्त न्युन रहेको तर्फ संकेत गर्दै मन्त्री पोखरेलले आगामी दिनमा विद्यार्थी संख्या वृद्धि गर्ने र अनावश्यक सम्बन्धन नदिने तर्फ ध्यान दिन पदाधिकारीहरुको ध्यानाकर्षण गराए ।

विश्वविद्यालयलाई अध्ययन, अध्यापन, अनुसंद्दान, र समुदायसँग समन्वय गरेर सञ्चालन गर्ने गरी नयाँ पद्धतीको विकास गर्नु पर्ने तथा विश्वविद्यालयमा शिक्षक आपुर्ती गर्ने नयाँ विधिको विकास गर्नु पर्नेमा सचेत गराए ।

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनैतिक हिसाबदेखी शैक्षिक र भौगोलिक हिसाबले राम्रो सम्भवानाको जगमा विश्विद्यालय रहेको बताए ।

सोही अवसरमा राष्टूपति भण्डारीले विश्वविद्यालयका पूर्व पदाधिकारी तथा विश्विद्यालय स्थापनामा योगदान पुर्याएका पाँच जना व्यक्तित्वहरुलाई सम्मान समेत गरेकी थिइन् । राष्ट्रपतिबाट विश्वविद्यलयका प्रथम सेवा आयोगका अध्यक्ष कृष्णप्रसाद पोखरेल,पूर्व उपकुलपति तोरणबहादुर कार्की, विश्वविद्यालय स्थापनमा योगदान गर्ने पूर्व सांसद अशोक कोइरालालाई सम्मान गरका थिए ।

विश्वविद्यालयका प्रथम उपकुलपति ध्रुवनारायण लाललाई मरणोपरान्त सम्मान अर्पण गरिएको थियो भने विश्वविद्याय स्थापनामा योगदान गरेका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको अनुपस्थितीकाबीच पनि सम्मान अर्पण गरिएको थियो ।