भद्रपुर/ 
ए वैनी, यी कुहिएका तरकारी किन राखेको ?
होटललाई दिन ।
होटलले यस्तो तरकारी लान्छ र ?
लान्छ त ।
यस्ता सढेगलेका तरकारी होटललाई किन बेचेको ?
उनीहरुले यही सस्तोमा माग्छन् अनि दिने गछौ नी, नफ्यालीकन ।
यो सम्बाद आज भद्रपुरमा बजार अनुगमन र तरकारी बिक्रेताबिच भएको हो ।
भद्रपुर नगरपालिकाले आइतबार भद्रपुर–१० स्थित चन्द्रगढी बजारमा गरेको आकस्मिक अनुगमन गरेका थियो । ममता राजवंशीको तरकारी पसलमा गएको टोलीलाई बिक्रेताले टाडो भाषा मै यस्ता प्रकारका जवाफ फर्काएकी थिइन् । राजवंशी र अनुगमन टोलीबिच केहीवेर विवाद भएको थियो । राजवंशीको पसलबाट इलोक्ट्रोनिक डिजिटल तराजुसमेत टोलीले बरामद गरेको छ । टोलीले अङ्गुर, भेडे खुर्सानी, करेला, गाजर र टमाटर विभिन्न पसलबाट प्रयोगशाला परिक्षणको लागि नमुना पनि लिएको छ ।
चन्द्रगढी बजारमा रहेका अधिकांस तरकारी व्यापारीले उपभोक्ताको स्वास्थ्यमाथि चरम लापारबाही गर्दै व्यापार गरिरहेको अनुगमन टोलीले बताएको छ । ढक तराजु ठिक नभएको, व्यावसाय दर्ता नविकरण नगरेको, इजाजत नलिएको, मूल्यसूची नराखेको, विषादी र खाद्य सामग्री एकैठाउँमा राखिएको फेला पारेको थियो ।
भद्रपुरनगर कार्यपालिका सदस्य विवा पासवानको नेतृत्वमा नगरप्रमुख जीवन कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, अधिकृत दयाकृष्ण ढकाल, पशुसेवा , कृषि ,जनस्वास्थ्य शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रक भरतबहादुर पुरी, गुणस्तर तथा नापतौल झापाका सिनीयर मेकानिक्स अमितकुमार कर्ण, झापा उद्योग वाणिज्य सङघ, प्रहरी, पत्रकार, कर्मचारीलगायतको टोलीले अनुगमन गरेको थियो ।
टोलीले सुन पसल, दुध डेरी, मोवाइल पसल, खाद्य दोकान, भाडा पसल, तरकारी तथा फलफुल पसल, मासुजन्य पसल गरी दुइ दर्जन भन्दा बढी पसल अनुगमन गरिएको संयोजक पासवानले बताए । बजार अस्तव्यस्त रहेको अनुगमनको क्रममा फेला परेको नगरप्रमुख श्रेष्ठले बताए । सडक अतिक्रमण गरेर राखिएका सामग्रीलाई तत्काल हटाउन निर्देशन दिएको पनि उनले जनाए । दोस्रो पटक आउँदा निर्देशन पालना नगरेमा सामग्री उठाइने जानकारी पसललेलाई दिएको उनको भनाइ छ ।