धरान / राष्ट्रिय गौरवको आयोजनाको रुपमा उच्च प्राथमिकता पाएको कोशी करिडोर २२० केभी प्रसारणलाइन विस्तारको क्रममा धरान –२०का स्थानीयले अवरोध गरे पछि आज मुख्यमन्त्रिसहितको टोलीले अवरोधबारे जानकारी लिएको छ ।
मुख्यमन्त्रि शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, संघीय सांसद जयकुमार राई, मीन विश्वकर्मालगायतको टोलीले धरानको वडा नं २० विष्णुपादुकाको शनिबार स्थलगत निरीक्षण गरेको हो ।
निरिक्षण पछि मुख्यमन्त्रि राईले विवाद समाधान गर्न सुझाव समिति बनाउने निर्देशन दिएका छन् । ‘कुन कुन टावरले कहाँ, कसरी असर गर्छ, त्यसले कस्तो प्रभाव पर्छ र त्यसलाई न्युनीकरण कसरी गर्न सकिन्छ भनेर व्यवहारिकरुपमा अध्ययन गर्न प्रमुख जिल्ला अधिकारी प्रेमपूसाद उप्रेतीको संयोजकतत्वमा समिति बनेको छ । समितिलाई ७ दिन समस्याको पहिचान गर्ने र ठोस सुझाव दिने समय तोकिएको छ । ११ सदस्यीय समितिमा आयोजनाको मेनेजर, ठेकेदार कम्पनीको एक प्रतिनिधि र परामर्शदाताको पनि एक प्रतिनिधि रहनेछन् ।

यसैगरि, वडा नं २० का अध्यक्ष मणिराम राई, सरोकारवालाकोतर्फबाट धरान उपमहानगरका इञ्जिनियर सुरज श्रेष्ठ, स्थानीयबासी प्रेमकुमार राई, प्याराग्लाइडिङतर्फबाट एक्स्ट्रीम धरानका सचिव रामप्रसाद राई रहेका छन् भने राजनीतिक दलकोतर्फबाट कांग्रेस नगर सभापति तिलक राई, साविक एमालेका अध्यक्ष नारायण सुवेदी र साविक माओवादी केन्द्रका चोत्लुङ रहेका छन् । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले ‘एक साताभित्र समस्याको हल निकाल्ने गरि सुझाव समिति बनेको बताइन ।