वराहक्षेत्र/ वराहक्षेत्रस्थित पञ्चकन्या आधारभूत विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यलयबाट बुझेको १३ लाख रुपैयाँ रकम विद्यालयका प्रधानाध्यापकले अनियमितता गरेका छन् ।

बागदलबारीस्थित विद्यालयका कक्षाकोठा २ महिनाभित्र बनाइसक्नु पर्ने भनिए पनि ३ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

प्रधानाध्यापक केशव चौधरीको चरम लापरबाहीले गर्दा वराहक्षेत्र नगरपालिकाको पञ्चकन्या आधारभूत विद्यालयको कन्तविजोग हुन पुगेको छ । विद्यालयमा छाना छैन । झ्याल ढोका नहुँदा विद्यालय विद्यालयजस्तो छ्रैन ।

०७२ सालको वैशाखमा जिल्ला शिक्षा कार्यालय सुनसरीले दिएको साढे १३ लाख रुपैयाँले जस्तापाताको छाना भएको दुई कोठाको पक्की भवन ०७२ को असारमा सम्पन्न हुनुपर्ने हो तर प्राचार्यको लापरबाहीले बन्न नसकेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण दाहालले बताए ।

विद्यालयको अहिलेसम्म भुइँ प्लास्टर भएको छ तर झ्यालढोका नलगाइएको र छाना पनि लगाउन बाँकी रहेको स्थानीय शिक्षिका सुजाता अर्यालले बताइन् ।

प्रअ चौधरी नियमित विद्यालय आउँदैनन् । उनलाई भवन बनाउन किन ढिलो गर्नु भएको भन्दा जहिले पनि बिरामी भएको बाहाना गर्ने गरेको अभिभाव बताउँछन् । विद्यालयका लागि आवश्यक सामग्री ढुवानी गरेको ट्याक्टरको भाडावापत्को ५० हजारसमेत प्रअ चौधरीले भुक्तानी नगरेको दाहालले बताए ।

बिरामीको बहानामा सधैँ छुट्टीमा बस्ने प्रअ चौधरीले विद्यालय लथालिङ्ग बनाएको स्थानीय बताउँछन् ।

‘प्रअ चौधरीको लापरबाहीको हद कहाँसम्म छ भने विद्यालय रहेको स्थानभन्दा सय मिटरमाथिमात्र उनी भाडामा बस्ने पूर्णशोभा राईको घरमा पानीको मुहान कटाएर पानी लगिएको छ तर विद्यालयको पाइपमा एक थोपा पानी आउँदैन्’ दाहालले भने । शौचालयको अवस्था पनि दयनीय रहेको उनले बताए ।

०४४ सालमा स्थापना भएको विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत् छन् । यस सम्बन्धमा प्रअ चौधरीलाई उनको मोबाइल नम्बर ९८२५३६२७८५ मा पटकपटक फोन गर्दासमेत उनको फोन उठ्न सकेन ।

यता वराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख डिल्ली अधिकारीले विद्यालयमा अनुगमन गर्दा काम अधुरो रहेको बताए । प्रअ चौधरीले जिल्ला शिक्षा कार्यालयबाट रकम निकासा गरिसकेको तर काम अधुरो छोडेको बताए ।

उनलाई काम सम्पन्न गर्न बारम्बार ताकेता गर्दा पनि अटेर गरेको शिक्षा शाखा प्रमुख अधिकारीले बताए । ‘प्रअले बारम्बार ताकेता गर्दा पनि अटेर गरिरहेका छन्, अब छिट्टै मिटिङ राखेर प्रअ नै चेञ्ज गरेर विद्यार्थीलाई पढाउने वातावरण तयार गर्छौ ।’ शाखा प्रमुख अधिकारीले भने ।