धरान / २०७३ फागुन १६ गतेको धर्मपुत्री बनाएर राखेकी १३ बर्षीया एक बालिकाको हत्या भए पछि पीडकलाई कारवाहीको माग गर्दै धरान १६, पुष्यमार्गका स्थानीयबासीहरुले दोषीलाई प्रहरी कार्यालय घेराउ, पीडकको घर घेरो, तोडफोटदेखि सडक आन्दोलनसमेत भएका थिए ।
धरान १६ पुष्यमार्गका भारतीय सेनाका पुर्वसुवेदार वलिमान राई र पदमकुमारीले धर्मपुत्री बनाएकी १३ बर्षीय अनुषा राईको रहस्यमय मृत्यु भएको सावर्जनिक भएपछि स्थानीयबासीहरु राई दम्पत्तिप्रति सिंगो समाज आक्रोशित बन्यो । भीड नियन्त्रण गर्न धरान प्रहरीले नसकेर क्षेत्र, अञ्चल र जिल्लाबाट मगाइएको थियो । जिल्लाका तत्कालिन एसपी पोषराज निरौला आफै धरानको कमाण्ड समाल्न आएका थिए ।
धर्मपुत्री बनाए पनि राई दम्पत्तिले अनुषालाई घरेलु कामदार बनाएको र यातना पनि दिने गरेको दाबीसहित स्थानीयबासीहरुले उनको हत्या भएको आरोप लगाएर आन्दोलन गरेका थिए ।
बालिकाको रहस्यमय मृत्यु प्रकरणले धरान रणभूमी बनेको थियो । उक्त वडामा कफ्यु जारी भएको थियो । अभिभावक भनिएका राई दम्पत्तिले नै बिष खुवाएर हत्या गरेको भन्दै साँझ ठुलो संख्यामा भेला भएका स्थानीयबासीहरुले पुष्यमार्गस्थित घरमा ढुंगामुढा तथा तोडफोड गरेका थिए । साँझ करिब ६ बजेदेखि शुरु भएको तनाव राती करिब साढे ११ बजेसम्म जारी रहेको थियो । प्रहरी र स्थानीयबासीबीच दोहोरो झडप हुदा केही सुरक्षाकर्मी र स्थानीयहरु पनि घाइते भए । त्यसक्रममा प्रहरीले ३६ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
स्थानीयहरुले वडा नागरिक मञ्चकी संयोजक उर्मिला प्रधानको संयोजकत्वमा एक छानबिन समिति गठन भएको थियो । अनुषा धरान १६, जोरसुवास्थित सियोन इन्टरनेशनल स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
कर्तव्य ज्यानमा मुद्दा दर्ता
मृतक राईकी वास्तविक बुबा जितबहादुर राई फेला परेपछि उनले प्रहरीमा कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए । जितबहादुरबाट जाहेरी परेपछि प्रहरीले दर्ता गरी बुधबार नै म्याद थप गर्न अदालतमा पेश गरेको थियो । उनलाई अदालतले चैत्र १३ गते थुनामा राख्ने आदेश जारी गरेको थियो ।
राई दम्पतीलाई २२ महिना पछि जन्मकैद फैसला
धरान र धरान–१६ को चर्चित १३ वर्षीया बालिका अनुषा राई हत्या प्रकरणको अन्तिम सुनुवाइ सोमबार भएको छ ।
जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा धर्मपिता बलिमान राई र उनको पत्नी पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार उनीहरूलाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जन्मकैद अनुसार २५ वर्ष जेल सजाय हुने व्यवस्था छ । जिल्ला अदालत ७ नम्बर इजलासका न्यायाधीश खिमानन्द भुषालको इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाइएको प्रवक्ता गिरीले जानकारी दिए ।
अदालतले करिब २२ महिनापछि मुद्दाको अन्तिम फैसला गरेको हो । यसअघि २०७३ चैत्र १४ गते राई दम्पतीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले नै आदेश दिएको थियो । अनुषाको हत्या २०७३ फागुन १६ गते गरिएको थियो । अनुषाले विष सेवन गरी आत्महत्या गरेको भन्दै छिमेकीहरूलाई पनि थाहै नदिई दाहसंस्कारको तयारी गरिरहँदा घटना बाहिरिएको थियो । घटना रहस्यमय भएको भन्दै महिला अधिकारकर्मीहरूले राई दम्पतीलाई पक्राउ गर्नका लागि लागि दबाव दिएका थिए । राई दम्पतीले विराटनगर उच्चअदालत र सर्वोच्च अदालतमा पुनारावेदन गरे पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।
अनुषा हत्याकणडाबारे ब्लाष्ट खवर अनलाइनको कभरेज यस्तो थियो
घट्ना भएको झण्डै दुई बर्ष पछि दोषी माथि कारवाहीको फैसला भएको छ । त्यस बेला राजनीतिक पँहुच तथा पैसाको प्रलोभनमा घट्नालाई ढाकछोप गर्न राई दम्पतिले अनेक चाल रचेका थिए । तर ब्लाष्ट खवरको निरन्तर खवरदारी र नागरिक समाज, अधिकारकर्मीहरुको दवावमा उनीहरु विरुद्ध मुद्धा दर्ता भएको थियो । यहाँ ब्लाष्ट खवरले त्यति बेला प्रकाशन गरेको समाचार, भिडियोहरु लिङ्कसहित जस्ताको तस्तै प्रस्तुत गरेका छौ ।