धरान/ चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बुझ्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना डाक्टरहरू इलाम प्रस्थान गरेका छन् ।

डा. केसीले १६ औं सत्याग्रह इलामबाट शुरु गरेका छन् । बुधबारदेखि अनसन थालेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बनेपछि नैतिक समर्थनसहित स्वास्थ्य स्थिति बुझ्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी बीपी प्रतिष्ठानको टोलीमा अध्यक्ष कविराज पौडेल, डा. डेनप्रसाद आचार्य, राजीव न्यौपाने र अरुण सापकोटा रहेका छन् । उनीहरू सबै जुनियर रेजिडेन्टहरू हुन् ।

अध्यक्ष पौडेलका अनुसार त्यहाँ पुगेर डा. केसीको अवस्थाको बारेमा जानकारी लिने, नैतिक समर्थन गर्ने र स्वास्थ्य स्थिति पनि चेकजाँच गर्ने रहेको छ । यसक्रममा बीपी प्रतिष्ठानको विशेषज्ञ चिकित्सक पनि उनको उपचारका लागि तयारी अवस्थामा रहेका छन् ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारका अनुसार भेन्टिलेटर तथा बेडहरू राखिएको र आवश्यकता परेको खण्डमा विशेषज्ञ चिकित्सक नै त्यसतर्फ प्रस्थान गर्ने बताए ।

यसैक्रममा उपचारमा संलग्न चिकित्सक डा. विजेन्द्र साहले डा. केसीलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताए । उनको मुटुको चाल तथा फोक्सोमा समेत इन्फेक्सन भइरहेको डा. साहको भनाइ छ । उनलाई आइतबारबाट इलाम अस्पतालमा भर्ना गरिएको छ ।