धरान/ शिक्षा निकेतन माविले ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार मनाएको छ । वार्षिकोत्सवको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरे ।
उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारले विशेष योजना ल्याइरहेको बताए । यसक्रममा कक्षा १ देखि कक्षा १० सम्मका जेहेन्दार तथा गरिब विपन्न विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरिएको छ ।
विद्यालयका ६० विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको विद्यालयका प्रअ उमेश गुरागाईले जानकारी दिए ।
यसक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, कवितालगायतका प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माणको प्रतिवेदन सभामुख भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राई र प्रअ गुरागाईले प्रदान गरेका थिए ।
यसक्रममा हरेक वर्ष प्रदान गर्दै आएको ‘ध्रुवलाल’ अन्तर मावि चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई नगद ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।