तेह्रथुम/ लालीगुराँस नगरपालिकाले युवा युवतीहरुलाई कुलत हटाई पढ्ने वानीको विकास गराउन भन्दै नगरका तीन स्थानमा पुस्तकालय स्थापना गरेको छ ।
युवा युवतीहरुलाई पढ्ने बानीको विकास गराउने उद्धेश्यले नगरपालिका आफैले पुस्तकालय स्थापना गरेको हो । बजार क्षेत्रमा क्यारेम बोर्ड, तास, लुडो खेलेर समय बिताउने र कुलतमा लागेका युवाहरुलाई समेत पुस्तकालयले आकर्षित गर्न सक्छ ।
पुस्तकालयमा स्थानीय पाठकसँगै आसपासका विद्यालयका विद्यार्थी र शिक्षक समेत अध्ययनका लागि आउने नगर प्रमुख अर्जुन माबोहाङले बताए ।
युवा पुस्तामा मोबाइल, इन्टरनेट टेलिभिजन, फेसबुक लगायतका प्रयोग र विकाससँगै पुस्तक पत्रपत्रिका पढ्ने बानी हराईरहेको बेला बजार क्षेत्रको बसपार्कमा १४ लाख रुपैंया लगानीमा पुस्तकालय स्थापना गरीएको नगर प्रमुख माबोहाङले बताए ।
पुस्ताकालय विद्यार्थी र पाठकका लागि ज्ञानको स्रोत बन्ने स्थानीयको भनाई छ । पुस्तकालयमा धर्मशास्त्र, विभिन्न जातजातीको भाषा लिपि लगायत धरै भन्दा धेरै पुस्तकहरु समेत संकलन गरेर राखिएको नगरपालिकाले जनाएको छ ।
पुस्तकालयलाई समय अनुकुल बनाउन इन्टरनेट लाईव्रेयरी र फ्री वाईफाई समेत राख्ने नगर प्रमुख माबोहाङको भनाई छ । त्यसका लागि डिजिटल प्रणाली बारे अध्ययन भैरहेको उनको भनाई छ ।
भर्खरै निर्माण सम्पन्न भएको पुस्तकालयमा स्थानीय विद्यालयमा पढाइ हुने पाठ्यक्रममा आधारित पुस्तक समेत राखीने छन् ।
पुस्तकालयमा धर्म, दर्शन, इतिहास, संस्कृति, कला, साहित्य, भूगोल, कानून, कृषी-वागवानी, राजनीति, शिक्षा, बन तथा वातावरण, उद्यम शिलता, समसामयिक घट्ना विवरण भएका दैनिक पत्रपत्रिका लगायतका ज्ञानको स्तर बढाउने पुस्तक संकलन गरेर राख्ने काम भैरहेको नगरपालिकाका नगरविकास विज्ञ कृष्ण घिमिरेले बताए । ‘विकास भनेको बाटो घाटो, पुल पलेसा मात्र होईन चेतना फैलाउनु पनि हो ।’ नगरविकास विज्ञ घिमिरेले भने ।
नगरपालिकाले स्थानीय स्वास्थ्य चौकीको पुरानो भबन रहेको खाली जग्गामा पुस्तकालयका लागि तीन कोठे भवन निर्माण गरेको छ । पुस्तकालयलाई प्रविधिमैत्री बनाउने काम चलीरहेकाले खर्च थप वढ्न सक्ने नगर प्रमुख माबोहाङले बताए ।
पुस्तकालयमा पाठकको आकर्षण राम्रो भएमा पुस्तक संख्या थपेर ५ हजार बढी पुर्याउने नगरपालिकाको योजना छ । पुस्तकालयले बेगारी भएर बजार क्षेत्रमा क्यारेम बोर्ड, तास, लुडो खेलेर समय बिताउने र कुलतमा लागेका युवाहरुलाई समेत आकर्षित गर्ने लक्ष्य नगर प्रमुख माबोहाङले लिएका छन् ।
पुस्तकालयले बसन्तपुर बजारको आकर्षण पनि बढ्ने र पर्यटकिय क्षेत्र भएकाले पर्यटकलाई पुस्तकालयले धेरै कुरा थाहा हुने नगर प्रमुख माबोहाङको भनाई रहेको छ । पुस्तकालयमा गाउँका युवा, कृषकहरुलाई समेत काम लाग्ने पुस्तक राखिएको छ ।
युवायुवतीहरुमा पढ्ने बानीको विकास गराई उपन्यास, नाटक, गजल, कथा, कविता सृजना लेखनमा प्रेरित गर्न सकीएमा बौद्धिक समाज निर्माण हुन गै अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने नगरविकास विज्ञ घिमिरेको भनाई छ ।
यस्तै नगरपालिकाकै सहयोगमा वडा नम्बर ७ लसुने बजार र वडा नम्वर ५ दांगपामा पनि पुस्ताकालय स्थापना गरीएको छ । लसुने बजारमा ३ लाख रुपैंया लगानीमा पुस्तकालय स्थापना गरीएको नगरपालिकाका प्रेस सल्लाहकार राजकुमार तेयुङ्गले बताए ।
दांगपामा १ लाख ५० हजार रुपैंया लागतमा पुस्तकालय स्थापना गरीएको सल्लाहकार तेयुङ्गको भनाई छ ।