यासोक(पाँचथर)/ पाँचथरको कुम्मायक गाउँपालिकाको ऐतिहासिक तथा धामिक स्थलको संरक्षण र सम्वर्दन गर्न स्थानीयले आग्रह गरेका छन ।

मुख्य पर्यटन प्रवद्र्धन केन्द्रको रुपमा रहेको कुम्मायक–कुस्सायक धार्मिक सम्पदाको संरक्षणमा स्थानीय निकायले चासो दिनुपर्ने बताएका छन ।

शनिबार ‘‘कुम्मायक कुस्सायक माङहिम (मन्दिर) व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन्’’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कुम्मायक गाउँपालिकाले दुबै धार्मिक संम्पदाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नु पर्ने पूर्व डियस्पी जगतजंग लावतीले बताए ।

समृद्धिको योजना नै पर्यटन र कृषि भएकाले गाउँपालिकामा रहेको धार्मिक सम्पदाको पहिचान गरी संरक्षण र सम्बर्धन गर्नुपर्ने उनले जनाए ।

कुम्मायक कुस्सायक धार्मिक सम्पदाको संरक्षणका लागि कुम्मायक कुस्सायक क्षेत्र विकास संस्था स्थापना भएको थियो ।

२०७१ सालमा स्थापना भएको संस्थाले गाउँपालिकाका सरोकारवला र स्थानीय समाजसेवीको सहयोगमा बिभिन्न गतिविधि गर्दै आएको छ ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति नेपाका केन्द्रिय सदश्य तथा पूर्व मन्त्री डम्बरसिंह सम्बाहाम्फे स्थानीयतहले पर्यटन पुर्वाधार क्षेत्रमा पनि रकम बिनियोजन गर्ने भएकाले स्थानीयतह र नागरिकले धार्मिक क्षेत्रको संरक्षण र संम्बर्दन गर्नुपर्नेमा जोड दिए ।

धार्मिक संम्पदा स्थानीयतहको सम्पती भएकाले यसको संरक्षण तर्फ सबै मिलेर अघिबढ्नु पर्ने उनले बताए ।

उक्त अन्तरक्रियामा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष जकेन्द्र लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।