बिर्तामोड/ बन्दी सहायता नेपालद्धारा सञ्चालित झापाको एक विद्यालयले मनमाया आमा बालगृह स्थापना तथा निर्माण सहयोग गर्ने तीन विदेशीसहित ७ जनालाई सम्मान गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्वर ११ मा स्थापना भएको जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयले आइतबार सम्मान कार्यक्रम आयोजना गरी विदेशी सहयोगकर्ता र बिद्यालयका शिक्षिकाहरुलाई सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा स्पेनका ओरिवल, क्याथोलियाका बर्नेट र अल्गोरसहित शिक्षिकाहरु कमला श्रेष्ठ, गीता श्रीवास्तव, सुरेखा योङहाङ र अम्विका गुरुङलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बन्दी सहायता नेपालका पूर्वाञ्चल शाखा संयोजक जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा बन्दी सहायता नेपालकी केन्द्रीय अध्यक्ष इन्दिरा रानामगर, नेपाली काग्रेसका नगर सभापति हेमराज खरेल, जिल्ला कारागार झापाका प्रमुख राजु दाहाल विशिष्ठ अतिथि रहेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थबहादुर राई, बिर्तामोड नगर वडा नं. ६ का अध्यक्ष सूर्य कन्दङ्वा, शिक्षक तथा अभिभावक संघका अध्यक्ष डम्बरबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन बिद्यालयका प्रध्यानाध्यापक रञ्जित परियारले गरेको थिए । प्राथमिकतातर्फ एकसय ३ जना र वालगृहमा २५ जना विद्यार्थी अध्यानरत रहेको विद्यालयमा ८ जना शिक्षकशिक्षिका र एकजना कर्मचारी रहेको विद्यालयका प्रध्यानाध्यापक परियारले बताए ।
१४ जना कैदीबन्दीका छात्रछात्रा समेत सो विद्यालयमा अध्ययनरत रहेका छन् ।