भोजपुर/ विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा जिल्लामा चौँथो भोजपुर ट्रेल रेस प्रतियोगिता हुने भएको छ ।  अल्ट्रा धाविका राईको सम्मानमा ‘ट्रेल रनिङ नेपाल’को आयोजनामा भोजपुर ट्रेल रेस हुने ट्रेल रेसकी म्यानेजर प्रिती खत्रीले बताइन् ।

रेस १६ फ्रेबुअरी सन २०१९ मा आयोजना हुने शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । ३६ किलोमिटरको रेस धाविका राईको जन्म थलो पौवादुम्मा गाउँपालिकाको सानोदुम्मामा गरिने म्यानेजर खत्रीले जानकारी दिइन् ।

म्यानेजर खत्रीका अनुसार प्रतियोगितामा युके, सिङ्गापुर, फ्रान्स, हङकङ र दुई वटा युरोपियन देशका खेलाडीसहित ८ देशका खेलाडी सहभागी हुने छन् । रेसमा नेपालका तीन सय खेलाडी सहभागी हुने छन् ।

चौँथो ट्रेल रेस मिरा राईको इच्छा अनुसार आयोजना गर्न लागिएको हो । ट्रेल रेसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन तथा अन्तर्राष्ट्रिय खेलाडी नेपाल भिœयाई स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगिता गर्न लागिएको रेसका सहआयोजक तथा रिमाञ्चुङ स्पोर्टस् एजुकेशन एकेडेमीका अध्यक्ष पावीहाङ राईले बताए ।

अन्तर्राष्ट्रिय खेलाडी ल्याई ट्रेल रेस गराउनु नेपालका लागि ठूलो सौभाग्य भएको बताउँदै खेलकुद विकास समिति भोजपुरका उपाध्यक्ष सरोज बस्नेतले खेलकुद विकास समितिको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१६ फेब्रुअरीमा हुन लागेको भोजपुर ट्रेल रेस विदेशमा रहेका नेपालीहरू तथा सङ्घ–संस्थाहरूको सहयोगमा हुन लागेको हो ।