इनरुवा/ न्याय दिने न्यायालय नै व्यवस्थित नहुँदा जिल्ला अदालत सुनसरीका न्यायाधीशहरूको कन्तबिजोक भएको छ । सानो र भत्कन आँटेको पानी चुहिने थोत्रो भवनमा बसेर न्याय दिँदै आएका छन् । न्याय सम्पादनको महत्वपूर्ण कसी कार्यालयलाई नै बेवास्ता गरिँदै आएको छ ।
जिल्ला अदालत सुनसरीमा यतिबेला न्यायाधीश बस्ने इजलाससम्म छैन । न्यायाधीश बस्ने इजलास नहुँदा अहिले सुनसरी जिल्ला अदालतमा न्यायाधीश अरूको कोठामा बस्नु परेको जिल्ला अदातल सुनसरीका प्रवक्ता गोपाल गिरी बताउँछन् । गिरी भन्छन्, ‘भवन अभावका कारण न्यायाधीशहरू बस्ने ठाउँ नहुँदा कन्तविजोक भएको लामो समय भयो तर भवन बनेन ।’
सानो भवन त्यो पानी चुहिएर बसिनसक्नु भएको प्रवक्ता गिरी बताउँछन् । ‘कार्यालयमा इजलास कोठा नहुँदा असाध्यै समस्या हुँदै आएको छ ।’ गिरीले भने, ‘इजालास कोठा छैन न्यायाधीश पनि हाम्रै कोठामा बस्ने गर्नु हुन्छ ।’
केही वर्षदेखि भवन बनाउने कुरा चले पनि अहिलेसम्म भवन नबन्दा जिल्ला अदालतको भवन साँघुरो भएको उनी बताउँछन् । ९ जना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालत भवन सानो भएका कारण सेवाग्राहीले समेत समस्या भोग्दै आएका छन् ।
जिल्ला अदालत सुनसरीमा भेटिएका अधिवक्ता रमेश पोखरेल भन्छन्, ‘अदालत सानो भएकै कारण न्यायाधीशसहित सेवाग्राहीलाई समस्या छ, भवन चर्किएको अवस्थामा छ, सुनसरी अदालतलाई फराकिलो भवनको आवश्यकता छ ।’ जिल्ला अदालत सुनसरी भौतिक संरचना अभावका कारण लथालिङ्ग छ ।
उपयुक्त भवन अभावले न्याय सम्पादन लगायतका दैनिक काम कारबाही सञ्चालनमा समस्या खेप्नु परेको अदालतले जनाएको छ । अधिवक्ता केदार भण्डारी भन्छन्, ‘कार्यालयको बिजोक छ, ठूलो भवन आवश्यक रहे पनि बिजोकसँग कर्मचारीले काम गरिरहेका छन् । ’
पुरानो भवनको साँघुरो कोठाबाट दुःखका साथ काम गर्नु परिरहेको छ । वर्षायामको समयमा अधिकांश कोठमा पानीसमेत छिर्ने गरेको छ । अधिकांश फाइल पानीले भिज्ने गरेको छ । अदालतका फाँट र कोठाहरू साँघुरा छन् । भवन अभाव र साँघुरो भौतिक संरचनाका कारण सेवाग्राहीले समेत असहज महसुस गर्ने गरेको अदालतका कर्मचारी बताउँछन् ।