भद्रपुर/ भद्रपुर प्रथम वडास्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी आयोजक वडा नम्बर ६ ले हात पारेको छ । विजेता वडाले नगद ४० हजारसहित ट्रफि पाएको छ । उप-विजेता बनेको वडा नम्बर ५ ले नगद २० हजारसहित ट्रफिमा चित्त बुझाएको थियो ।  भद्रपुर माविको मैदानमा टस हारेर पहिला व्याटिङ्गको निम्तो पाएको वडा नम्बर ६ ले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १सय५५ रन बनाएको थियो ।

आर्यन यादवले दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन, किशोर लामाले ६ चौका र एक छक्का प्रहार गर्दै ३३ रन, नविन अग्रवालले ५ चौका प्रहार गर्दै २० र धिरज चौधरीले दुई चौका प्रहार गर्दैै ११ रन बनाए । बलरतर्फ सुर्दशन महर्जनले ३ ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिए । दर्पंण थापा, नितिन राणा, गोपाल शर्मा, आयुस झा र बासु साहले एक/एक विकेट लिए ।

१ सय ५६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ५ ले १६ ओभर ३ बलमा १ सय २४ रनमा अलआउट भए । अजय राजपुतले विस्फोटक पारी खेल्दै ४ चौका र ४ छक्का प्रहार गर्दै ४६ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

उनले टिमलाई जिताउन विस्फोटक पारी खेलेपनि अन्य व्याटस्मेन धेरै बेर पिचमा टिक्न नसक्दा टिमले हार बेहार्नु परेको थियो । नितिन राणाले दुई चौका प्रहार गर्दै १२ रनमा आउट भए । बलरतर्फ आर्यन यादवले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिएका थिए ।

त्यस्तै धिरज चौधरीले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट र किशोर लामाले २ ओभरमा २३ रन खर्चिएर दुई विकेट लिए । खेलको म्यान अफ द म्यान आर्यन यादव घोषित भए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट व्याटस्मेनमा वडा नम्बर ६ का ईश्वर हाडा, उत्कृष्ट बलर र फिल्डरमा आयुस झा, उत्कृष्ट किपरमा राकेश साह र म्यान अफ सिरीजमा नितिन राणा घोषित भए । उनीहरुलाई नगद तथा टूफिले पुरस्कृत गरिएको थियो ।

पृथ्वी जयन्ती तथा राष्टिूय एकता दिवसको अवसर पारेर भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा पुस २७ गतेबाट शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको थियो ।