धरान/ नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई थप विकास गर्ने उद्देश्यले नागरिकसँग सुझाव सङ्कलन थालेको छ ।
नेपाल पुलिस खेलकुद समिति काठमाडौं र समुदाय प्रहरी जिल्ला समिति, सुनसरीले मङ्गलबार धरानमा खेलकुदकर्मी, प्रशिक्षक तथा जनप्रतिनिधिहरूबाट सुझाव लिएका हुन् । पोखराबाट शुरु गरिएको यो अभियान मङ्गलबार धरानमा गरिएको हो ।
नेपाल प्रहरीले खेलकुदमा थप सशक्त बनाउनका लागि देशव्यापी रूपमा सुझाव सङ्कलनलाई प्राथमिकता दिएको छ । ‘प्रहरीको खेलबाट के अपेक्षा गर्नुभएको छ । प्रहरीले के कन्ट्रिव्यूट गर्न सक्छ ?’ समितिका सदस्य सचिव एवम् एआइजी धिरू बस्नेतले धरानको अन्तरक्रियामा भने ।
उनका अनुसार प्रहरीले खेलाडीहरूको तीन वर्षे रणनीतिक कार्य योजना तयार पारिरहेको छ । त्यही कार्ययोजनाअन्तर्गत अहिले अन्तकृयामार्फत् सुझाव सङ्कलन गरिरहेको हो । सुझाव दिने क्रममा कराते प्रशिक्षक कुवेर राईले सक्षम खेलाडीलाई रोजगारको व्यवस्था गरिदिए खेलकुदको विकास हुने बताए ।
उनले खेलकुदमा सक्षम खेलाडी तथा प्रशिक्षकले अवसर पाउनुको सट्टा आफ्ना आफन्तहरूलाई मौका दिने गरेको गुनासो पोखे ।
त्यस्तै टेवल टेनिस सङ्घका अध्यक्ष नवीन श्रेष्ठले प्रहरीले सिनियर खेलाडीहरूलाई मात्रै प्राथमिकता दिने गरेको बताए । त्यसका अलवा जुनियर खेलाडीहरूलाई पनि अवसर सिर्जना गर्न आग्रह गरे ।
उनले प्रहरीले सञ्चालन गरेका स्कुलहरूमा जुनियर खेलाडीहरूलाई पूर्ण छात्रवृति दिएर अवसर सिर्जना गर्नुपर्ने बताए । सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्रीले प्रदेश र जिल्लास्तरमा खेलाडीहरूको अवस्था बुझ्नका लागि नै कार्यक्रम राखिएको बताए ।
कार्यक्रममा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, धरान उपमहानगरका कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी, खेलकुद पत्रकार मञ्च सुनसरीका अध्यक्ष पत्रकार रत्न आचार्यलगायत क्रिकेट, कराते, बक्सिङ, सेपाकटाक्रो, उस्सु, टेबलटेनिस, फुटबलका खेलाडी तथा प्रशिक्षकहरू सहभागी रहेका थिए ।