धरान/ हालै प्रधानन्यायाधीश बनेका चोलेन्द्र शमशेर राणाको निर्देशनमा दुई जिल्लाका न्यायाधीश निलम्बनमा परेका छन् । आचरण विपरीत कार्यसम्पादन गरेको आरोपमा ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन गरेको हो ।
न्याय परिषदले छानविन समिति गठन गरेलगत्तै उनीहरू निलम्बनमा परेका हुन् । दुवै न्यायाधीशलाई परिषद्मा तानिएको छ । यसअघि पनि विराटनगर उच्च अदालतका न्यायाधीशलाई पनि केन्द्रमा तानिएको थियो ।
राणा प्रधानन्यायाधीस भएको भोलीपल्टै बनेको परिषदले निगरानी संयन्त्र बनाएको थियो । उक्त समितिले ललितपुर जिल्ला अदालतमा पहिलो अनुगमन गरेको थियो । अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रुपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको निश्कर्ष निकालेको थियो ।
विराटनगर उच्च अदालतबाट पाँच न्यायाधीश नागेन्द्रलाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारङ्गा सुवेदीलाई पनि परिषदमा यसअघि नै तानिसकिएको छ । उनीहरू साढे ३३ केजी सुन तस्करी र उर्लाबारीका सनम हत्या प्रकरणको मुद्दाको सुनवाइ गरेका थिए ।
त्यस्तै न्यायीक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा तानिएको छ ।