विराटनगर । वैदेशिक रोजगारमा जानेहरूको लागि यस अघि काठमाण्डौबाट मात्र हुँदै आएको श्रम स्वीकृति अब विराटनगरबाट पनि सुरु भएको छ ।
वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश १ को अस्थायी मुकाम विराटनगरबाट श्रम स्वीकृति सुरु भएको हो ।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट यो सेवा सुरु भएको छ । यसको शुभारम्भ बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरे । वैदेशिक रोजगार डेस्कको रुपमा हाललाई विदेशबाट बिदामा आई फेरि रोजगारीको लागि जानेहरुको लागि सेवा आरम्भ गरिएको हो ।
वैदेशिक रोजगारीमा गई काम गरेर छुट्टीमा आएकाहरुले श्रम स्वीकृत पाउने श्रम कार्यालय विराटनगरको निमिक्त प्रमुख सविता दाहालले बताइन् । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालिम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवम् गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य श्रम कार्यालयबाटै सम्पादन हुनेछ ।
वैदेशिक रोजगारी कल्याणकारिणी कोषको १ हजार ५ सय र बिमावापत ३५ वर्ष उमेर समूहसम्मको ३ हजार ९ सय २५ रुपैयाँसमेत गरी कूल ५ हजार ४ सय २५ रुपैयाँ श्रम स्वीकृतको लागि बुझाउनु पर्ने श्रम कार्यालय विराटनगरकी निमित्त प्रमुख दाहालले बताइन् । उमेरगत आधारमा ३५ वर्ष उमेर माथि भए बिमा रकम थपघट हुने कार्यालयले जनाएको छ ।
पहिलो सेवाग्राहीको रुपमा धनकुटाको चौबिसे गाउँपालिका– ५ बोदेका विजय खड्काले श्रम इजाजत लिएका छन् । उनी कतार बसेर तीन महिना विदामा घर आएका हुन् । यही चैत १५ गते रोजगारको लागि पुन विदेश जाने तयारी गरेका खड्काले आफ्नै प्रदेशबाट श्रम स्वीकृति पाएपछि निकै खुसी देखिन्थे ।
पहिलो सेवाग्राहीको रुपमा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमरेले खड्कालाई श्रम स्वीकृतको इजाजत दिए । ‘आफ्नै ठाउँबाट श्रम इजाजत लिन पाउँदा निकै खुसी लागेको छ,’ उनले भने, ‘काठमाडौ जाँदा र बस्दा लाग्ने खर्च घट्यो । समयको पनि बचत भएको छ ।’ उनले आफ्नै प्रदेशबाट सेवा लिन पाउँदा र पहिलो सेवाग्राहीको रुपमा स्टिकर मिल्दा निकै हर्षित भएको सुनाए ।