भद्रपुर/ नेपालको पुरानो नगरपालिकाको रूपमा परिचित भद्रपुर नगरपालिका क्षेत्रभरि पछिल्लो समय सडक तथा नाला निर्माण धमाधम भइरहेको छ । सडक निर्माणको क्रममा धेरै स्थानमा सकस बन्दै पनि आइरहेको छ ।
तर, स्तरीकरणको काम भइरहेका सडक निर्माणस्थलको प्रत्यक्ष अनुगमन भने भएको पाइँदैन । नगरपालिकाले आफ्नो तर्फबाट गतवर्ष आंशिक अनुगमन गरे पनि चालू आर्थिक वर्षमा शून्य रहेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठलगायतले सामाजिक सञ्जालमा अनुगमनको फोटा सार्वजनिक गर्दै आए पनि यो वर्ष गुपचुप रहेका छन् । नगरपालिका मौन रहेसँगै सडकको लागि खटिएका सुपरभाइजर निर्माणस्थलमा नदेखिएपछि ठेकेदारको भरमा नै त्यस्ताखाले सडक निर्माण हुँदै आएको छ ।
यसरी ठेकेदारको एकलौटी उपस्थितिमा निर्माण भइरहेका सडकको गुणस्तरमाथि शङ्का उत्पन्न भएको छ । तर नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले भने नगरपालिकाको तर्फबाट बेलाबखत अनुगमन गरिरहेको दाबी गरे । संयुक्त अनुगमनको लागि भने केही दिनपछि बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा ६ वटा प्याकेजमा सडक स्तरीकरणको काम भइरहेको नगरमा चालू रहेका २० वटा निर्माणस्थलका लागि १२ जना प्राविधिक स्थलगत अनुगमनका लागि खटिने जिम्मेवारी तोकिए पनि निर्माणस्थलमा देखिँदैनन् । प्राविधिकको अनुपस्थितिमा कम्पनीको चाहनाअनुसार काम भइरहेको प्रष्ट भएको छ । उनीहरूलाई तलब–भत्तासहित करार नियुक्ति दिएर सघन शहरी विकास आयोजनाले स्थलगत अनुगमनमा पठाएको छ ।
प्राविधिकले सिमेन्ट, बालुवा, गिट्टी, ढुङ्गाको परिमाणको बारेमा मात्रा मिलाउन नगएपछि मजदुर र ठेकेदारको भरमा निर्माण भइरहेका सडक तथा पर्खाल चर्कने, फुट्ने जस्ता जटिल समस्या देखिन सक्ने नगरवासीको आरोप छ । सडकको अवस्था नाजुक बन्दै जानुमा नगरपालिकाले चासो नदेखाएको स्थानीय रामराज न्यौपानेले गुनासो गरे । जताततै सडकसँगै नाला निर्माण भइरहेको अवस्थामा नगरपालिका र सघन शहरी आयोजनाले ध्यान नदिएको उनको आरोप छ । निर्माण मजदुर भने कुनै दिन सुपरभाइजर आउने, कुनै दिन नआउने जनाउँछन् ।
सबै क्षेत्रमा १० देखि ५ बजेसम्म प्राविधिक खटिएको सघन शहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर गजेन्द्र साहले दाबी गरे । प्राविधिक पहिचानको लागि केही दिन अघिबाट लोगोसहितको लाइट ज्याकेट उपलब्ध गराइएको उनले बताए । निर्माणस्थलमा कुनै समस्या भए तत्काल कार्यालयमा जानकारी गराउने र समाधानको लागि इञ्जिनियर पुग्ने गरेको उनको भनाइ छ । उनका अनुसार सवओभरसियर, ओभरसियर र सुपरभाइजर गरी १२ जना खटाइएको बताए । कार्यालयले सवारी साधनका रूपमा एक-एक वटाका दरले साइकल दिएको र निजी मोटरसाइकल हुनेलाई इन्धनको व्यवस्थासमेत गरेको उनले बताए ।
मापदण्ड विपरीत निर्माण हुँदै गरेको लेखनाथ चोक हुँदै गार्मेन्ट जाने सडकको ६ मिटर जति नाला, धनुषमोडबाट चन्द्रगढी चोकतर्फमा सोलिङलगायत अन्य क्षेत्रमा रद्द गरी पुनः बनाउन लगाइएको उनले बताए । ठेकेदारको प्राविधिक भए पनि सम्झौताअनुसार काम नभएको पाइएमा निर्माण कार्य पास नहुने उनले दाबी गरे । निर्माण क्षेत्रमा प्रयोग भइरहेका सामग्री परीक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनले बताए । ६ ओटा प्याकेजको लागि २ अर्ब रुपैयाँ आएको छ भने ५ ओटा निर्माण कम्पनीले ठेक्का लिएको उनको भनाइ छ । भद्रपुर क्षेत्रमा करिब ७० किलोमिटरको काम भइरहेको छ । नालातर्फ ७५ र सडकमा १५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
बहुवर्षे आयोजना अन्तर्गत योजनाका कामहरू पक्की नाला निर्माणसहित सडक विस्तारसँगै कालोपत्रे हुने जनाइएको छ । ५ वर्षभित्र साना तथा साँघुरा सडक फराकिला बन्ने लक्ष्य लिएर काम भइरहेको छ ।