इनरुवा/ गैरकानूनी रूपमा इनरुवामा सञ्चालनमा रहेको एलेन कलेज अफ इञ्जिनियरिङ प्रा.लि. प्रकरणको मुद्दा थप पेचिलो बन्दै गएको छ ।

माघ २० गते ठगीविरुद्धको मुद्दा दर्ता भएसँगै सुनसरी प्रहरीले कलेजका अध्यक्ष मनोज मेहता र सञ्चालक विनोदकुमार शर्माका नाममा जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति पायो । सोही आधारमा पक्राउ गरिएका शर्माविरुद्ध २१ गते सुनसरी जिल्ला अदालतबाट ६ दिने म्याद थप भयो । मनोज मेहता भने प्रहरीपरिसरमै मुटु दुख्यो भन्दै बेहोसीको अवस्थामा पुगेपछि उनलाई तत्काल उपचारका लागि प्रहरीकै रोहवरमा चेकजाँचका लागि धरान पुर्याइयो ।

त्यसयता मेहता अझैसम्म उपचाररत छन् । मेहतानिकटका अनुसार मेहता प्रेसर र मुटुको बिरामी हुन् । धरानमा उपचारपश्चात् प्रहरी कार्यालयमा ल्याइएका मेहतामा पुनः स्वास्थ्यमा खराबी देखियो र उपचारका लागि परिवारको रोहवरमा रहने गरी जिम्मा लगाइयो । प्रहरीका अनुसार हाल उनि नोबेल अस्पताल विराटनगरमा उपचाररत छन् । नोबेलमा भर्ना भई क्याबिन नम्बर १७ मा उपचाररत रहेका मेहतालाई प्रत्यक्ष प्रहरीको निगरानीमा राखिएको छ । मोरङ प्रहरीसँगको समन्वयमा निगरानीमा राखिएका मेहताको स्वास्थ्य अवस्था यकिन गर्दै निरन्तर निगरानीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार इनरुवाबाटै प्रहरी खटाएको जनाएको छ ।

ठगी मुद्दामा सञ्चालक शर्मा पक्राउ परी उनलाई थप ९ दिन म्याद थप भैसकेको छ । अध्यक्ष भने अस्वस्थताको कारण देखाउँदै लामो समयसम्म उपचाररत रहनुलाई जनमानसमा शङ्काको दृष्टिले हेर्न थालिएको छ । प्रहरीले संरक्षण दिएको जस्ता आरोपसमेत लाग्न थालेको छ । सुनसरी प्रहरी भने मेहतालाई संरक्षण दिइएको भन्ने कुरामा सत्यता नभएको दाबी गर्छ ।

सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी स्वास्थ्यमा आएको खराबी र उपचाररत अवस्थामा रहेको हुनाले मेहतालाई तत्काल नियन्त्रणमा नलिइएको बताउँछन् । उपचार गर्न पाउनु व्यक्तिको पहिलो अधिकार भएकाले मुद्दा दर्ता भई आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको अवस्थाका बीच समेत मेहतालाई स्वास्थ्योपचारका लागि परिवारको रोहवरमा जिम्मा लगाइएको अधिकारी बताउँछन् । मुद्दा दर्ता भई अदालतबाट समेत पक्राउ आदेश जारी भैसकेकोे हुनाले प्रहरी निगरानीमा राखिएका मेहतालाई स्वास्थ्यमा सुधार आउनासाथ नियन्त्रणमा लिइने उनको भनाइ छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार लामो समय बिरामी भई उपचाररत रहेका मेहताको नियतमा खोट रहेको हुनसक्ने आँकलनमा चिकित्सकसँगको छुट्टै परामर्श समेत थालिएको छ । अनुसन्धानका क्रममा प्रहरीलाई गुमराहमा पार्ने गरी बिरामीको नाटक गरेको पाइए मेहतालाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रक्रिया तत्कालै अघि बढाउने प्रहरीले जनाएको छ । चिकित्सकसँगको सल्लाह, औषधोपचार र स्वास्थ्य समस्यासहित समाधानका विषयमा अध्ययन र अनुसन्धानपश्चात् त्यसपछिको अन्य प्रक्रियालाई अघि बढाउने गरी तयारी थालिएको प्रहरीको भनाइ छ ।

ठगी मुद्दाउपरका सबै कागजात दुरुस्त बनाई मेहता पक्राउका लागि तयारी अवस्थामा रहेको बताउने प्रहरी चिकित्सकको सल्लाह र सुझावको पर्खाइमा रहेको बुझिएको छ । स्वयम् प्रहरी प्रमुख अधिकारीले समेत अस्पतालमा निगरानीका लागि प्रहरी खटाइएकाले कुनै पनि बेला मेहता पक्राउ पर्न सक्ने बताउँछन् । धरान, इनरुवा, घर र नोबेल विराटनगर गर्दै उपचारको क्रममा रहेका मेहताउपर भने पक्राउ छल्न आवश्यकताभन्दा बढी बिरामीको नाटक गरिरहेको आरोप लागिरहेको छ ।

उजुरी दिन लगाउने भनिएका केही व्यक्ति र समाचार प्रकाशन गर्ने सञ्चारकर्मीहरूलाई स्वयम् मेहताकै पहलमा सेटिङमा ल्याउने प्रयास भैरहेकोसमेत बुझिन आएको छ । दलीय आडमा मेहताले अस्पतालमै रहेर मुद्दा कमजोर तुल्याउने प्रयासमा जुटेकोसमेत स्रोतको दाबी छ ।

कुनै समय एलेन कलेजमा सँगै काम गरेका विनोद मण्डलसँगको असन्तुष्टिपश्चात् ठगी प्रकरण बाहिर आएको प्रहरी अनुसन्धानको क्रममा खुल्न आएको छ । आदित्य कर्ण, सुनिलकुमार यादव, दीपेनकुमार मण्डल, बलराम उराव, अभिनाश ऋषिदेव, शेखर ऋषिदेव, अक्षय उराव, युवराज उराव, अमर मण्डल, अजयकुमार मण्डल, विजयकुमार मण्डल, करण यादव, मिथुन यादव, पन्नालाल साह, रोशन यादव, नरेशकुमार उराव र पप्पु यादवसमेत १६ जनाले ठगी मुद्दामा कारबाहीका लागि एलेन कलेजका सञ्चालकसहितका नाममा प्रहरीसमक्ष उजुरी दिएका छन् ।

उजुरी दिए पनि सोधपुछ र आवश्यक अनुसन्धानका लागि बोलाउँदा उजुरीकर्ताहरू एकाधबाहेक सम्पर्कमा आउन नचाहेको प्रहरीले जनाएको छ । ठगीसम्बन्धी मुद्दामा आवश्यक कागजातसहित विवरण दुरुस्त पार्न उजुरीकर्ताहरू अनुपस्थित रहँदा ढिलाइ भैरहेको प्रहरी बताउँछ । उजुरीकर्ताबाहेक अन्य प्रक्रियाका सवालमा प्रहरीले ठगी मुद्दामा आवश्यक सबै कागजात जुटाइसकेको पाइएको छ । एलेन कलेजले सञ्चालन गरेको भनिएको १३ सय २० घण्टाको कम्प्युटर कोर्ष गैरकानूनी रहेको, सिटिइभिटीसँग सम्बन्धन नलिई नाम जोडेर झुटो प्रचार गरिएको, विभिन्न प्रलोभन देखाई विद्यार्थी भर्ना गराएको, विद्यार्थीबाट बढी शुल्क लिई ठगी गरिएको जस्ता विषय स्वयम् सिटिइभिटीबाट गैरकानूनी ठहर भैसकेकाले सोही अनुरूपको मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

अनुसन्धानका क्रममा एलेन कलेजका नाममा गैरकानूनी रूपले सञ्चालन गरिएको कोर्षसँग सम्बन्धित सबै कागजातसहित अनुसन्धानका लागि आवश्यक अन्य कागजातसमेत प्रहरीले बरामद गरिसकेको जनाएको छ । एलेन कलेजले कार्यक्रम सञ्चालनका लागि सहकार्य गरेको विराटनगरको स्किल फाउण्डेसनसमेत प्रहरी अनुसन्धानको क्रममा तानिने भएको छ । सिटिइभिटीले स्किलले अर्को संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिन नमिल्नेसहितको पत्र प्रहरीलाई उपलब्ध गराएको छ ।

उल्लेखित कोर्ष अध्ययन गर्ने विद्यार्थी एसईई उत्तीर्ण हुनुपर्ने, कार्यक्रम सञ्चालन गर्न कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई सिटिइभिटीबाट अनिवार्य सम्बन्धन लिनुपर्ने, प्रशिक्षक दक्ष र अनुभवी हुनुपर्ने जस्ता स्पष्ट बुँदा उल्लेख गर्दै ठगी प्रमाणितसहितको पत्र प्रहरीलाई उपलब्ध गराएसँगै एलेन कलेज विरुद्धको मुद्दा ठोस रूपमा अघि बढाउन सहज भएको सुनसरी प्रहरीले जनाएको छ । सिटिइभिटी र अख्तियारमा उजुरी गरेका विद्यार्थीहरूले एलेनउपर ठगीविरुद्ध माघ २० मा सुनसरी प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

सिटिइभिटी क्षेत्रीय कार्यालय इटहरीले भने प्राप्त उजुरीका आधारमा माघ १७ गते नै गैरकानूनी रूपमा सञ्चालित एलेनको कार्यक्रम बन्द गराई क्षतिपूर्ति दिलाइदिन भन्दै प्रशासनमा पत्र पठाएको थियो । प्रशासनले आवश्यक कारबाहीका लागि प्रहरीलाई आदेशसहितको पत्र काटेपछि प्रहरीले सोसँग सम्बन्धित अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको हो । यसैबीच एलेन प्रकरणका विषयमा प्रधानमन्त्रीको कार्यालय मातहत सञ्चालनमा रहेको ‘हेलो सरकार’ मा समेत उजुरी परेको पाइएको छ । हेलो सरकारले समेत घटना प्रक्रिया र अनुसन्धानको विषयमा प्रहरीसँग जानकारी लिइरहेको बुझिएको छ ।

एलेन कलेजले भने गैरकानूनी भनिएको कोर्ष बन्द गरिएको जनाएको छ । एलेनले यतिबेला कम्प्युटर प्रोगामर एण्ड एप्लिकेसन डेभलोपर कोर्ष पढाउन थालेको बताएको छ । १३ सय २० घण्टे कोर्षका नाममा भर्ना गरिएका विद्यार्थीलाई अर्को कोर्ष पढाइनु कानूनी रूपमा कत्तिको जायज छ वा अर्को ठगी सावित हुने हो त्यो भने सम्बन्धित निकायले चाल्ने थप अनुसन्धानका क्रममा खुल्ने नै छ । स्थानीय अभिभावकहरूले एउटा विषय पढाउन भर्ना गरेका विद्यार्थीलाई अर्को विषय प्रसङ्ग जोडेर पढाइनुसमेत अर्को ठगी भएको बताइरहेका छन् ।