इटहरी/ एक महिनाको अन्तरमा आमाबुबा दुवै गुमाएर किरिया बसेकी १५ वर्षीया प्रियङ्का नेपालले पण्डितले आफूलाई लिष्ट दिएर रोजी–रोजी सामान किन्न लगाएको बताएकी छन् । आफ्नो आमाको १२ औं तिथिमा संस्कारअनुसार दिने दानमा पण्डितको मागअनुसार सामान किन्न आफू बाध्य भएको बताएकी छन् ।
इटहरीमा कोठाभाडामा बस्दै आएकी प्रियङ्काले एक महिनाको अन्तरमा आमा र बुबा नै बितेपछि इटहरीको वेद मिन्दरमा किरिया बसेको बताइन् । आफ्नो आमा टीकादेवीको १३ औं तिथिमा ऋण काढेरै भए पनि पण्डितलाई सामान किनिदिए पनि पण्डितनीलाई मन नपरेर जलाएको प्रियङ्काको गुनासो छ । उनले दुःखेसो गर्दै भनिन्, ‘आमाको लागि ऋण काढेर बाहुन पुजेँ, उनीहरूले लिष्ट दिएर जे जे माग गरे, त्यो किनिदिएँ तर लुगा मन परेन भनेर जलाएछन् ।’
दान दिएको कपडा राम्रो नलागेको भन्दै इटहरी–४ मा रहेको वेद मन्दिरमा दानमा आएको कपडा जगाइएको प्रियङ्का बताउँछिन् । वेद मन्दिरका पण्डित रामकुमार उप्रेतीले १३ औं दिनको काम गरिदिएको प्रियङ्काले बताइन् ।
मलाई खाट हैन, पलङ चाहिएको छ भन्दै पलङ मागे, आफन्तले पलङ नै किनिदिए पनि सिरक–डसना भने मन परेन भन्दै बाहुनीले जलाइदिएको उनको गुनासो छ ।
दान दिएको सिरक, डसना पण्डितकी श्रीमती गङ्गा उप्रेतीले मङ्गलबार बिहान जलाएर खोलामा फालेकी थिइन् । स्थानीयले पण्डितनीले गरिब बालिकाले दिएको दान जलाएको भन्दै आपत्ति जनाए । आफूले भनेजस्तो कपडा नल्याएकोले रिसको झोंकमा उनले कपडा जलाएको बालिकाका आफन्तले बताएका छन् । ‘आर्थिक अवस्था निकै कमजोर नेपाल परिवारले ऋण गरेर पितृलाई खुशी बनाउन दिएको दानका सामान जलाए’ –बालिकाको आफन्त शारदा न्यौपानेले दुःखेसो गदै भनिन् ।
‘दानमा दिने कुरा त हाम्रो खुशीले हो, तर पण्डितकी श्रीमतीले ‘लिष्ट’ नै दिएर किन्न लगाइन्’ न्यौपानेले भनिन्, ‘उनले भनेजस्तो सामान नभएपछि सामान जलाएको होला ।’ ‘पितृ खुशी हुने विश्वासमा एकसरो कपडा पण्डितलाई दिने हो, तर यहाँ त पण्डितनीलाई खुशी बनाउन दिएजस्तो भयो’ –आफन्त न्यौपानेले भनिन् । एक थान लो बेडसहित सिरक, डसना, सिरानी दिँदैमा पनि ४० हजार ऋण भएको न्यौपानेले बताइन् ।
बालिकाको आफन्त र स्थानीयको माझ पण्डितनीले मन नपरेको सामान मन्दिरमा नभित्र्याउने सार्वजनिक अभिव्यक्तिसमेत दिएको न्यौपानेले बताइन् । पण्डितको श्रीमती गङ्गा उप्रेतीले भने आफूले सामान नल्याउन भनेको र श्रीमान्सँग सामान्य विवाद भएपछि सिरक, डसना जलाएको बताइन् । उनले भनिन्, ‘मैले श्रीमान्लाई चन्दा उठाएर किरिया गर्नेहरूबाट कुनै सामान नलिनू भनेको थिएँ, उहाँले लिनुभएछ, मलाई मन परेन जलाएँ ।’
आफन्तहरूले भने प्रहरीलाई समेत बोलाएर दुःखेसो गरेका थिए । उनले आवेशमा आएर त्यस्तो भएकोमा माफी दिन आग्रह गरिन् । काजकिरियामा बसेकी बालिकाको बुबाको मृत्यु भएको २१ दिनमै आमाको पनि मृत्यु भएपछि सोही मन्दिरमा बसेर उनले आमाको काजकिरिया गरेकी थिइन् । आमाको काजकिरियासमेत गर्न खर्च नभएपछि इटहरीका सञ्चारकर्मी कृष्णकला राईको पहलमा सहयोग सङ्कलन गरिएको थियो ।