विराटनगर/ १ नम्बर प्रदेश सरकारले प्रदेशमा रहेका ९० वर्ष पुगेका वृद्धवृद्धाहरूलाई घरमै पुगेर ५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारको एक वर्ष पुगेको अवसरमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षदेखि ९० वर्ष पुगेका वृद्धावृद्धाहरूलाई सम्मानस्वरूप नगद ५ हजार रुपैयाँ घरमै पुगेर प्रदान गर्ने घोषणा गरेका हुन् ।
प्रदेशले एक वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सम्मान स्वरूप ९० वर्ष पुगेका वृद्धवृद्धाहरूलाई ५ हजार प्रदान गर्ने बताए । ‘९० वर्षभन्दा माथिका वृद्धवृद्धालाई प्रदेश सरकारले ५ हजार नगदसहित घर–घरमा सम्मान गर्नेछ’ मुख्यमन्त्री राईले भने, ‘यो सानो र पहिलो प्रयास मात्र हो ।
प्रदेश सरकारले क्रमशः प्रदेश र जनतालाई जोड्दै जानेछ ।’ उनले सबै संरचना समयमै हस्तान्तरण नहुँदा कानून अभावमा सरकारले आपेक्षाअनुसार काम गर्न नपाएको बताए । उनले आगामी दिनमा वस्तुनिष्ठ समीक्षा गरेर समृद्ध प्रदेश खुशी नेपालीको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी वर्षदेखि प्रदेशका इमान्दार कर्मचारीहरूलाई प्रोत्साहनसहित पुरस्कृत गर्ने जानकारी गराए ।
मुख्यमन्त्री कार्यालयले तयार पारेको ‘प्रदेश सरकारको एक वर्ष’ पुस्तक औपचारिक कार्यक्रममा प्रदेश १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले असहज परिस्थिति भए पनि एक नम्बर प्रदेश सरकारको काम सन्तोषजनक भएको बताए । उनले आगामी दिनमा चुनौतीको सामना गर्दै खुशी नेपाली समृद्ध प्रदेशका लागि निरन्तर काम गर्न प्रदेश सरकारलाई शुभकामना दिए ।
एक नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कानून र संरचना अभावको चुनौती झेलेर पनि २३ वटा कानून निर्माण गर्न र संयन्त्र आफै निर्माण गरेर परिचालन गर्न सफल हुनुले प्रदेश सरकार सफल भएकोमा शुभकामना दिए । उनले आगामी दिनमा प्राकृतिक स्रोतसाधानलाई पूर्ण उपभोग गर्दै सरकार अगाडि बढेमा साँच्चै एक नम्बरको हुनसक्ने बताए ।
सरकारले सार्वजनिक गरेको पुस्तकमा एक वर्षभित्र गरिएका महŒवपूर्ण कामलाई पुस्तकका ५१ पृष्ठमा समेटिएको छ । प्रदेश सरकारको एक वर्षे अवधिमा मन्त्रिपरिषद्को ३७ वटा बैठक बसी एक सय ५८ वटा निर्णय गरेको वर्ष पुस्तकमा उल्लेख छ । मन्त्रिपरिषद् बैठकबाट एक अध्यादेश, २३ वटा विधेयक, ३० वटा कार्यविधि र निर्देशिका तथा नियमावली दुईवटालाई स्वीकृत गर्ने काम भएको छ । प्रदेश सरकारको काम तथा सेवालाई प्रभावकारी बनाउन ११ वटा मन्त्रालयस्तरीय कार्यालय र त्यस अन्तर्गत एक सय ५५ वटा निर्देशनालय तथा जिल्लास्तरीय कार्यालय स्थापना भएका छन् ।
तीन दर्जन कर्मचारीलाई सम्मान
प्रदेश सरकारले कर्तव्यनिष्ठ भएर काम गर्ने तीन दर्जन बढी कर्मचारीहरूलाई सम्मान गरेको छ । सरकारको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार उनीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्मान गरेको हो । सम्मानित कर्मचारीहरूलाई प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले सम्मान–पत्र प्रदान गरे ।
सम्मानित हुने कर्मचारीहरूमा प्रदेश सचिव यज्ञबहादुर खत्री, प्रल्हादप्रसाद सापकोटा, उपसचिव रविन्द्र आचार्य, मनोजकुमार यादव, फणिन्द्र खत्री, केशव खतिवडा, शाखा अधिकृतहरू रामप्रसाद फुयाल, ओमप्रसाद पराजुली, पर्शुराम क्षेत्री, रामकृष्ण पाठक, दीपेन्द्र राई, मञ्जु खड्का र नासु भोजराज गिरी, कम्प्युटर अपरेटर किरण ढकाल, कोमल दहाललगायत छन् ।