धरान/ भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगभित्रकै क्रियाकलापलाई नियन्त्रण गर्न ‘इन्टलिजेन्स युनिट’ खडा गरेको छ ।
अख्तियारका आयुक्त राजनारायण पाठक नै घूस काण्डमा मुछिएपछि आयोगले आफ्नैभित्रको क्रियाकलापलाई नियन्त्रण गर्न युनिट खडा गरेको हो । यो युनिटले आयोगभित्रका भ्रष्टाचारलगायतका अपराधलाई निगरानी राख्नेछ ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा प्रमुख आयुक्त नवीनकुमार घिमिरेको प्रत्यक्ष नियन्त्रणमा रहने गरी १५ जनाको युनिट खडा गरेको जनाएका छन् । यो युनिटले आयोगका कर्मचारीहरूको निगरानी राख्नेछ ।
आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आरोप लाग्न थालेपछि प्रमुख आयुक्त घिमिरेले पछिल्लो घटनाबारे आयोगले छानविन थालेको बताए । उनले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान शुरु गरिसकेकाले घटनाको सत्य–तथ्यबारे चाँडै सार्वजनिक हुने बताए ।
वाइडबडी विमान खरिद प्रकरणमा पनि छानबिन भइरहेको र बयान लिने काम भइरहेको उनले बताए । आयोगलाई सहयोग गर्ने गरी जिल्ला–जिल्लामा नागरिक समूह गठन गरिरहेका छन् ।