धनकुटा / पाख्रिवास नगरपालिका वडा नं ५ दियालेका आशिष मगर वेपत्ता भएको एक महिना वित्न लाग्दा समेत अझै भेटिएका छैनन् । गत फागुन २० गते शिवरात्री दिन घरवाट निस्किएका उनी अझैसम्म घर नआएका उनका भिनाजु टिका भूजेलले बताए ।
उनका अनुसार शिवरात्रीको दिन विहान भरि घरमा काम गरेर दिउँसो तीन बजे दोकानतिर जान्छु भन्दै उनी हिडेका थिए । तीन दिनसम्म पनि घर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय पाख्रिवासमा खोज तलासको लागि उजुरी दिएका थिए ।
उजुरी दिए पनि प्रहरीले खोजी तलासमा खासै चासो नदिएको उनका भिनाजु भूजेलले गुनोसो गरे । यता इलाका प्रहरी कार्यालय पाख्रीवासका इञ्चार्ज प्रेमबहादुर कार्कीले भने उजुरी आएको दिन नै जिल्ला कार्यालयमा पठाइएको बताए ।