धरान । फिल्मको पर्दामा व्यस्त रहने कलाकार सुनिल थापा केही दिनदेखि हातमा ब्याट र बल लिएर क्रिकेट पिचमा दौडिरहेका छन् ।
थापा मात्र होइन, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर शाह देखि निश्चल बस्नेत, दयाहाङ राईलगायतका कलाकारहरू उसैगरी मातृभूमि कप क्रिकेट प्रतियोगिताको लागि तयारी गरिरहेका छन् । धुर्मुस–

सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ शनिबार क्रिकेट टिम र कलाकारहरूको प्रतिस्पर्धा हुँदैछ ।
कलाकारहरूलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन्, ‘खेलको तयारी सकिएको छ ।

प्रतियोगिता मनोरञ्जनको प्याकेज पनि हुनेछ ।’

प्रतियोगितामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् । पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमाञ्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरूको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल हुनेछ ।

प्रतियोगिताबाट सङ्कलित रकमको १५ प्रतिशत बारा, पर्साका हावाहुरी पीडितका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ ।