धरान/ २०७५ सालमा ९६ वटा नेपाली फिल्म बजारमा आए । तर तीमध्ये अधिकांशले घाटाको व्यापार गरेका छन् ।
यो वर्ष बजारमा आएकामध्ये ‘छक्का पञ्जा ३’ ले सबैभन्दा बढी कमायो । निर्माताहरूका अनुसार फिल्मले १६ करोडभन्दा बढीको व्यापार गर्यो । यही वर्ष बजारमा आएको ‘नाइँ नभन्नु ल ५’ ले पनि राम्रै व्यापार गर्यो । ‘जय भोले’ ले लगानी मात्र उठायो । ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा, प्रसाद, क्याप्टेन’ जस्ता फिल्म औषत मात्र चले । यिनले लगानी पनि सुरक्षित गर्न सकेनन् ।
यी बाहेकका सबैजसो फिल्मले नेपाली बजारबाट घाटा व्यहोरे । यो वर्षको शुरुमा आएका ‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, डमरुको डण्डीबियो, भोर, लम्फू, हिरोज’ मध्ये कुनैले पनि राम्रो व्यापार गर्न सकेनन् ।
जेठमा रिलिज भएका ‘हैरान, सुनकेशरी, अफिसर, कोसेली, अमेरिकन ब्वाइज, बेबी आई लभ यू, चङ्गा, मट्टीमाला’ पनि असफल भए । असारमा आएका ‘तिमी हुन्छौ जहाँ जहाँ, ए सोल्टिनी, चोखो माया, बोबी, बाबु कान्छा, विराङ्गना, यो पागल मन’ ले पनि नाफा कमाएनन् ।

साउनमा आएका ‘भैरे, पण्डित बाजेको लौरी, चक्कर, सुकुल गुण्डा, रोमियो एण्ड मुना, ची मुसी ची, कायरा, झमकबहादुर, कहीँ कतै, टीनएज, पिरिम प¥या छन्’ को अवस्था पनि दयनीय बन्यो ।
भदौमा आएका ‘जय शम्भु, ब्ल्याक, मिस्टर भर्जिन’ चुर्लुम्म डुब्दा ‘नाइँ नभन्नु ल ५’ ले भने राम्रै कमाइ ग¥यो । ‘मेरी मामु, रामकहानी, रोज, साली कसको भेनाको’ ले कमाउन सकेनन् । असोजमा आएका ‘इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, धुम ३, कथा काठमाडांै, अनुराग, निर्जला, छक्का पञ्जा ३, जय भोले’ आए । ‘इन्टु मिन्टु लण्डनमा’ ले औषत व्यापार गर्दा ‘छक्का पञ्जा ३’ ले सर्वाधिक कमायो । कात्तिकमा रिलिज भएका ‘चङ्गाचेट, मालिका, गुनगुन, दैलो’ कसैले पनि कमाउन सकेनन् । मङ्सिरमा आएका ‘ड्रिम गर्ल, कोइला, शान्ति, प्रसाद, सुश्री सम्पत्ति, डोली, कथा ७२’ मध्ये ‘प्रसाद’ ले चर्चा पायो । तर कसैले लगानी उठाएनन् ।
पुसमा आएका ‘गोल, जय श्री दाम, जे सुकै होस्, चौका दाउ, भिलेन’ सबै असफल भए । माघमा ‘गरुड पुराण, आरोप, बैना, गोपी, रणवीर, सयकडा दश, समर लभ’ रिलिज भए तर आशा गरिएकाले समेत व्यापार गर्न सकेनन् ।
फागुनमा रिलिज भएका ‘बुलबुल’, ‘जादुगर २ जोकर, रुमालै छ चिनो, फिङ्गर प्रिण्ट, क्याप्टेन, दि ब्रेकअप, खाग, अदालत’ मध्ये ‘क्याप्टेन’ ले औषत कमाई ग¥यो । अरु डुबे ।
चैत्रमा ‘जानी नजानी, द म्यान फ्रम काठमाडौं, पुरानो बुलेट, कागजपत्र, प्रेमलीला, साइँली, शुभ लभ, लभ स्टेशन’ रिलिज भैसकेका छन् । ‘लभ स्टेशन र साइँली’ हलमा चलिरहेका छन् । अन्यले भने लगानी पनि सुरक्षित गर्न सकेनन् । चैत्र २९ गते ‘यात्रा र ए मेरो हजुर ३’ रिलिज हुनेछन् ।
निर्माताहरूका अनुसार यो वर्ष फिल्ममा करिब २ अर्बभन्दा बढी लगानी भए पनि धेरै निर्माताहरू चुर्लुम्म डुबे ।