सिरहा । सिराहाको माडरमा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले २५ शैय्याको मातृशिशु अस्पतालको उद्घाटन गरेका छन् ।

भारत सरकारको सहयोगमा निर्माण भएको चन्द्र नारायण यादव मेमोरियल मातृशिशु अस्पतालको राजदूत पुरीले उद्घाटन गरेका हुन् । सिराहा र छिमेकी जिल्लाहरूका ५० भन्दा बढी पालिकाहरूका जनताको मातृत्व तथा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा पाउने भएका छन् । भारत सरकारले २ करोड ६८ लाख ९७ हजार ९सय ३० रुपैयाँको लागतमा भवन निर्माण गरिदिएको अस्पतालका निर्देशक डा. सुभाषचन्द्र यादवले जानकारी दिए ।

डा. यादवका अनुसार मातृशिशुको हकमा योभन्दा अगाडि जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको कारणले अधिकांस महिलाको ज्यानसम्म जाने गरेको थियो ।

यसकारण थाल्यो अस्पताल निर्माण कार्य

अस्पतालको शिलान्यास कार्य २०६४ साल असोज २४ गतेबाट शुरु भएको हो । त्यो बेलामा ग्रामीण भेगका महिलाहरू असुरक्षित रूपमा घरमै बच्चा जन्माउन बाध्य थिए । जसका कारण महिलालाई पाठेघरमा क्यान्सर, अकालै मृत्यु हुने समस्या व्याप्त थिए । भारतीय दूतावासका काउन्सिल तथा आर्थिक विभागका प्रमुख प्रणय वर्माले २०६४ साल असोज २४ मा शिलान्यास गरेका थिए ।