पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म लडिरहने बताएका छन् । सदरमुकाम फिदिममा आइतबार भएको संघीय युवा मञ्च र संघीय विद्यार्थी युनियन पाँचथरको संयुक्त तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले लिम्बुवान सुनिश्चित नभएसम्म नथाक्ने बताए ।
लिङदेनले एकात्मकवादीहरुले लिम्बुवान स्वीकार गर्न नसकेको आरोप लगाउदै संघर्ष मार्फत् नै लिम्बुवान स्थापना गरि छाड्ने दृढता व्यक्त गरे । अधिवेशनलाई पार्टीका केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङ, प्रान्तीय महासचिव संगम खनाल, दलित शिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमशे गजमेर र संघीय विद्यार्थी युनियनका लिम्बुवानका अध्यक्ष मोहन माबोले पनि सम्बोधन गरेका थिए ।
यसैबीच तेस्रो जिल्ला अधिवेशनले प्रदीप थेबा लिम्बूको अध्यक्षतामा २८ सदस्यीय संघीय युवा मञ्चको नयाँ जिल्ला कार्य समिति निर्बाचित गरेको छ । समितिको उपाध्यक्ष सुमन योङहाङ, आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र हाङसरुम्बा र कोषाध्यक्ष आषिश सुहाङ निर्बाचित भएका छन् ।
त्यस्तै सुवाश केरुङ नुनामको अध्यक्षतामा १५ सदस्यीय संघीय विद्यार्थी युनियनको नयाँ जिल्ला कार्य समिति निर्बाचित भएका छन् । नव निर्बाचित समितिको उपाध्यक्ष सम्झना योङहाङ, मचिन्द्र आङदेम्बे, सचिव इन्द्र पदालुङ, र कोषाध्यक्ष सिर्जना पयाङ्गु निर्बाचित भएका छन् ।
नव निर्बाचित पदाधिकारी र सदस्यहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सपथ ग्रहण गराएको संघीय लिम्बुवान मञ्चका पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।