धरान/काँकडभिट्टा गोल्डकप बिहीबारदेखि शुरु भएको छ । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले बलियो दाबेदारी टिम क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध बनाएको छ ।
दाउफिन्सले गत सिजनमा ५ वटा उपाधि जितेको थियो । यो सिजनको पहिलो खेलमै दाउफिन्सले पराजय भोगेको हो । आयोजकबाट निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बूले गोल गर्दा योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिए । दाउफिन्सबाट गोलकिपर प्रिसो र विक विकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिएको हो । निर्धारित समयसम्म २–२ को बराबरीमा रोकिएपछि टाइब्रेकरबाट छिनोफानो भएको हो ।
शुरुवाती चरणमा दाउफिन्सले आयोजकलाई दबावमा राखेको थियो । दाउफिन्सका ओगेन जुनियरले खेलको छैठौं मिनेटमा गोल गरे । पुनः २० औं मिनेटमा जुनियरले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । २–० ले पछि परेको स्थिति उल्टाउँदै आयोजकका नगेन तामाङले बराबरीमा ल्याउन सफल भए । उनले खेलको २१ औं मिनेट र पहिलो हाफको इञ्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै बराबरी ल्याए । खेलको म्यान अफ दी म्याच आयोजकका नगेन तामाङ घोषित हुँदै नगद ११ हजार रुपैयाँसहित ट्रफी पाए ।
शुक्रबारको खेल धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाडौंबीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए । प्रतियोगिता विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका ८, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स सहभागी बनेको छ । खेलको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरे ।