स्थानीय तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश सरकारी विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन् । जिल्लाका १७ मध्ये ११ स्थानीय तहले पाठ्यपुस्तक र छात्रवृत्तिको रकम विद्यालयलाई अझै दिएका छैनन् । यसबाट तीनसय ३५ विद्यालयको भर्ना अभियान प्रभावित भएको छ ।

७६ हजारभन्दा बढी विद्यार्थी समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन् । शिक्षा समन्वय इकाई सिरहाको तथ्याङ्कअनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका तीनसय ३५ विद्यालयमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् । सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका तथा नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले रकम निकासा गरेका छैनन् । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ नारासँगै विद्यार्थी भर्ना अभियान शुरु भएको थियो ।

तर, रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान अन्योलमा परेको छ। जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन स्थानीय तहलाई आग्रह गरिएको बताए ।