बिर्तामोड/ झापाका टेम्पो व्यवसायीले सरकारसमक्ष व्यवसायमा पुँजीगत विभेद नगर्न अनुरोध गरेका छन् ।
 
ट्राफिक प्रहरीले मुख्य राजमार्गमा टेम्पो चलाउन प्रतिबन्ध गर्ने तयारी गर्र्दैगर्दा व्यवसायीले त्यसको प्रतिकार गर्ने बताएका छन् । झापाको सडक दिन प्रतिदिन व्यस्त बन्दै जाँदा दुर्घटनाको दर पनि बढ्दै गएको छ । ट्राफिक प्रहरीका अनुसार साना सवारी साधनको अत्यधिक चापले दुर्घटनाको दर बढेको हो । २०३० सालभन्दा अगाडि बनेको साँघुरो सडक र दिनदिनै थपिने सवारी साधनले अहिले राजमार्ग अस्त–व्यस्त बन्दै गएको हो ।
 
विगत दुईवर्ष अघिदेखि तीनपाङ्ग्रे टेम्पो चल्न शुरु भएको झापाको सडकमा अहिले ७ हजार बढी दर्ता भएको रेकर्ड छ । ट्राफिक प्रहरीले दर्ता बन्द गर्ने भने पनि स्थानीय तहको सिफरिसमा यातायात व्यवस्था कार्यालयले निर्वाध दर्ता प्रक्रिया जारी राखेको छ । टेम्पो व्यवसायीहरूले भने राजमार्गमा चलाउन अवरोध गरेको भन्दै पुँजीगत विभेद भएको आरोप लगाएका छन् । ठूला सवारी साधन चल्दा अवरोध नहुने तर, साना सवारीलाई रोक लगाउँदा त्यसमा आश्रित हजारौंको रोजीरोटी गुम्ने भन्दै व्यवसायीले आपत्तिसमेत जनाए ।
 
अटो टेम्पोेको संयुक्त छाता सङ्गठन जिल्ला समन्वय समिति झापाका अध्यक्ष गोविन्द तामाङले सिण्डिकेटप्रथा हटाउने सरकारको निर्णय कार्यान्वयन नहुँदा साना व्यवसायीहरू अहिले पनि मारमा परेको बताए । उनले मुलुकको अर्थतन्त्रमा साना व्यवसायीले समेत महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सरकारले संरक्षणभन्दा पनि व्यवसायीलाई निरुत्साहित गर्नतर्फ लागेको आरोप लगाए । 
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने सहायक मार्गमा मात्र अटोरिक्सा चलाउन अनुरोध गर्दै आएको छ । मुख्य राजमार्गमा सवारी साधनको चाप अत्यधिक हुने भएकाले उनीहरूलाई सहायक मार्गमा मात्र सीमित गर्ने ट्राफिकको योजना हो । तर, नियमानुसार दर्ता भएका सवारीसाधनले जुनसुकै मार्गमा पनि निर्वाध चल्न पाउनुपर्ने सरकारी ऐन रहेको व्यवसायीको भनाइ छ । झापाका ट्राफिक प्रमुख होम अधिकारीका अनुसार सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा साना सवारी रहेका छन् । लाइसेन्स नबनाई टेम्पो चलाउनेको संख्यासमेत उल्लेख्य रहेको उनले बताए । 
 
अधिकांश टेम्पो चालक अदक्ष रहेको अधिकारीले बताए । ‘एक सयजनाले लाइसेन्सका लागि ट्रायल दिँदा तीनजना मात्र पास भएको रेकर्ड छ’ अधिकारीले भने, ‘ठूलो सङ्ख्यामा भएका कारण बिनालाइसेन्सका चालकलाई नियमन गर्न नसकिएको हो ।’ ट्राफिक प्रहरीले चाहेर पनि टेम्पो चालकलाई अहिले नै नियमको परिधिभित्र ल्याउन नसकिएको उनले बताए । टेम्पो चालकहरूले भने आफ्नो अधिकार स्थापित गर्न र लगानीको ग्यारेन्टी गर्न झापाभरका व्यवसायीले संयुक्त छातासङ्गठन निर्माण गरेको बताएका छन् ।
 
जिल्लाका विभिन्न कम्पनीबीच सहकार्य गर्दै तामाङको अध्यक्षतामा ९ सदस्यीय समन्वय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा लगिन्द्रकुमार राई, सचिवमा बाबुराम राई, सह–सचिव अर्जुन उप्रेती, कोषाध्यक्ष हरिप्रसाद बाँस्कोटा चयन भएका छन् । सदस्यहरूमा भोजराज कार्की, केशवबहादुर प्रधान, दामोदर ढकाल र कुशी धिमाल रहेका छन् । सोमबार ट्राफिक सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरी अटोचालक सङ्घले आफ्ना सदस्यको आँखा परीक्षण तथा ट्राफिक नियमको पालनासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।