पाँचथर/ कारागारभित्र उत्पादन गरेका सामग्रीले बजार नपाएको जिल्ला कारागार पाँचथरका कैदीबन्दीले गुनासो गरेका छन् ।
कैदीबन्दीले बाँसबाट बन्ने मुढा, ¥याक र सजावटका सामग्रीहरू घर, चरा, फूल आदि बनाउने गरेका छन् । तर ती सामग्रीले बजार नपाएको कैदीबन्दी सुरेन योङ्याले बताए । सीप, श्रम र समय दिएर उत्पादन गरेको सामग्री नबिक्दा आफूहरू निराश बनेको योङ्याले दुःखेसो पोखे ।
कैदीबन्दीले पाँच सयदेखि १५ सय रुपैयाँसम्मका सामग्री निर्माण गर्ने गरेका छन् । उत्पादन गरेको सामग्रीले बजार पाए कारागारभित्रै राम्रो आर्थिक उपार्जन गर्न सक्ने अवस्था रहे पनि बजार अभाव रहेको कैदीबन्दीको गुनासो छ । सामान बिक्न छाडेपछि अहिले अर्डर आए मात्र सामग्री बनाउने गरेको कैदीबन्दी योङ्या बताउँछन् ।
कैदीबन्दीले उत्पादन गरेको सामग्रीबारे बजारमा जानकारी गराए पनि थोरैले मात्र चासो दिएको कारागारका सूचना अधिकारी विमल ढुङ्ंगानाले बताए । ‘कैदीबन्दीमा हस्तकलाका सामग्री बनाउने सीप छ, तर बजार छैन, सरोकारवालाले चासो दिए उनीहरू जेलभित्रै राम्रो आयआर्जन गर्न सक्छन्’ –उनले भने । जेलर सुरेन्द्र मुखियाका अनुसार पाँचथर कारागारमा पुरुष १ सय ३८, महिला १८, नाबालक एक र नाबालिका एक गरी १ सय ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये धेरैले हस्तकलाका विभिन्न सामग्री निर्माण गर्ने गर्दछन् ।