धरान/ भाषाशास्त्री प्रा.डा.टङ्कप्रसाद न्यौपानेको नाममा धरान–१४ विजयपुरमा ‘प्रा.डा.टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ स्थापना भएको छ ।
उक्त संस्था धरानका लब्धप्रतिष्ठित प्रबुद्ध व्यक्तित्वहरूको समूहले गरेको हो । अनुसन्धान केन्द्र स्थापना गरिएको बारे सोमबार महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित सार्वजनिकीकरण समारोहमा भाषा विज्ञानका अग्रज गुरु प्रा.डा. न्यौपानेको नाममा स्थापना गरेको समिति अध्यक्ष गोविन्दप्रसाद तिम्सिनाले बताए ।
उनले भाषा साहित्यलाई समाजसँगै जोडेर विभिन्न भाषा विज्ञानका पुस्तक तयार गरेको र आदिवासी जनजाति समुदायको आठपहरिया भाषामा विद्यावारिधी गरेको प्रसङ्ग जोड्दै पछिल्लो समयमा प्राज्ञिक अनुसन्धान केन्द्र स्थापना गरिएको बताए । उनले प्राज्ञिक अनुसन्धान गर्ने केन्द्रको जरुरीलाई संस्थानले परिपूर्ति गर्ने जनाउँदै भने, ‘आफ्नो जीवनको सम्पूर्ण ऊर्जा विश्वविद्यालयीय सेवामा समर्पण गरेका न्यौपानेको नाममा उहाँ जीवित छँदै यो प्राज्ञिक अनुसन्धान केन्द्र स्थापना गरिएको हो ।’
आफ्नो नाममा स्थापना गरिदिएको अनुसन्धान केन्द्रलाई सक्दो सहयोग गर्ने प्रा.डा.न्यौपानेले बताए । त्रिविबाट अवकास पाए पनि पूर्वका क्याम्पस र विद्यार्थीहरूलाई अझै भाषा विज्ञान पढाइरहेका न्यौपानेले भाषा जीवित राख्न पुस्तान्तरणका लागि अनुसन्धान केन्द्रले सहयोग गर्ने आफूलाई विश्वास पलाएको बताए । अनुसन्धान केन्द्रको बहुउद्देश्यीय भवन निर्माणका लागि धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले जग्गा उपलब्ध गराउने बताए ।
न्यौपानेको नाममा अनुसन्धान केन्द्र स्थापनाका लागि काठमाडौंबाट आएका कवि साहित्यकार अनिल पौडेलले प्रा.डा. न्यौपानेले भाषा अध्ययन अनुसन्धानमा लामो समय बिताएको र जनजाति समुदायमा परिचित भएकाले यो केन्द्रले अब नेपालका आदिवासी जनजातिका भाषा साहित्यको अनुसन्धानमा टेवा दिने बताए । उनले भने, ‘नेपालमा विविध जातिका भाषा बोलिन्छन्, ती भाषाको गहिरो अनुसन्धान हुन सकेको छैन । अब यहीँका समाजसँग जोडेर भाषिक अनुसन्धानमा यो संस्थाले काम गर्नेछ ।’
संस्थाका सदस्य सह–प्राध्यापक डा. राजेन्द्रप्रसाद पोखरेलले प्रा.डा. न्यौपाने धरान, विराटनगर र इटहरीमा जनस्तरबाट अभिनन्दित पहिलो भाषाविज्ञ भएकाले उनको नाममा संस्था स्थापित हुनु धरानको लागि गर्वको विषय भएको बताए । उनले आफ्नै बलबुताले मुलुकमै भाषाविज्ञको रूपमा स्थापित प्रा.डा. न्यौपाने आफै नै पनि भाषा विज्ञानका लागि विश्वविद्यालय भएको बताए ।