धरान / धरान–१५ को इमोर्टल्स क्लबले प्रथम महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धरान बास्केटबल सङ्घको आयोजनामा बुधबार सम्पन्न फाइलनमा डिपो माविलाई ४८–२५ अङ्कले पराजित गर्दै उसले उपाधि जितेको हो । उपाधि विजेता इमोर्टल्सले नगद १० हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यस्तै उपविजेता बनेको डिपोले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । इमोर्टल्सले १२, १४, १७, र ५ अङ्क प्राप्त गर्दा डिपोले ४, ८ ४ र ९ अङ्क प्राप्त गरेको थियो ।

प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर इमोर्टल्सका अनुसा मल्ल ठकुरी घोषित हुँदै नगद २ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । खेलको प्लेयर अफ द म्याचको उपाधि डिपो कलेजका डा. आशा राई र उदयिमान खेलाडी डिपो कलेजकी प्रिती राई घोषित भइन् । सङ्घका उपाध्यक्ष सुरजकुमार लामा, धरान–१८ वडाध्यक्ष प्रवीण राई, झुनाज फिटनेसका प्रोपराइटर झुना राईलगायतले पुरस्कार वितरण गरेका थिए ।