धरान । फर्निचार अभाव भइरहेको बेला पूर्वाञ्चल बहिरा विद्यालयलाई हङकङस्थित यामातेइ सहयोग समाजले वेन्च डेस्क र अन्य फर्निचर तथा शैक्षिक समाग्री खरिदका लागि शुक्रबार ५० हजार नगद सहयोग गरेको छ ।

हङकङको यामातेइमा बस्ने नेपालीहरुको सानो समूहले मासिक रूपमा जम्मा गरेको कोषबाट यसपटक धरान–१६ को पूर्वाञ्चल बहिरा विद्यालयलाई प्रदान गरिएको मनु लिम्बुले बताइन् । हङकङबाट धरान आएकी समाजकी कोषाध्यक्ष मनु लिम्बूले शुक्रबार विद्यालयका प्रधानध्यापिका रेनुका बुढाथोकीलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरिन् । उनले सहयोग हस्तान्तरण गर्दै भनिन्, ‘यामातेइमा हामीले बनाएको अनौपचारिक कोषमा जम्मा भएको केही रकममध्ये कहाँ केको खाँचो छ त्यहाँ सानोतिनो आवश्यकता टार्न सहयोग गर्ने गरेका छौं ।’

धरान हङकङ मञ्चका पूर्व अध्यक्षसमेत रहेका समाजका संयोजक नानीचन्द्र सिंगकले समाजले विपन्न समुदायलाई विभिन्न अवसर पारेर सहयोग गर्दै आएको बताए । यसअघि उर्लाबारीका एकजना मृगौला पीडितलाई र धरानको एक सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको थियो ।

पूर्वाञ्चल बहिरा स्कुल कक्षा ८ सम्म पढाउने आवासीय शैक्षिक संस्था भए पनि सरकारले कमैमात्र सहयोग गर्दै आएको छ । प्रअ बुढाथोकीले बहिरा स्कुल मुस्किलले चलेको बताइन् । स्कुलमा वेन्च डेस्क, सुत्नका लागि शैया र फर्निचर अभाव भएकाले समाजले सहयोग गरेको रकमले फर्निचर खरिद गर्ने बताइन् । स्कुलमा हाल विभिन्न जिल्लाबाट अभिभावकले ल्याएका ८० बालबालिका सांकेतिक भाषामा पठनपाठन गर्दै आएका छन् ।