धरान । धरान–३ स्थित सरस्वती बाल आश्रममा बुधबार श्रेष्ठ स्वावलम्बन सीप विकास छात्रवृति कोष स्थापना गरिएको छ ।
आश्रममा आश्रित २४ जना बालबालिकाको पढाइसँगै आयमूलक सीप विकास गर्ने उद्देश्यले कोष स्थापना गरिएको आश्रमका सचिव मनिष खड्गीले जानकारी दिए । धरान–१२ निवासी ८४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठले सीप विकासको लागि कोष स्थापना गरिदिएका हुन् । आश्रित बालबालिकाको भविश्य सुनिश्चित होस् भन्ने उद्देश्यले कोष स्थापना गरिदिएको उनले बताए । नेवार जातिको संस्कारअनुसार ८४ वर्षको उमेरमा गरिने चन्द्ररथारोहण गर्दा लाग्ने खर्च कटौति गरेर १ लाख २५ हजार रकम बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको व्याजबाट आवश्यकताअनुसार बालबालिकाको सीप विकासका लागि खर्च गरिने सचिव खड्गीले जानकारी दिए । श्रेष्ठले अक्षयकोष बराबरको चेक र सम्झौता–पत्र एकसाथ हस्तान्तरण गरे । आश्रमकी अध्यक्ष नैनकला न्यौपानेले यस किसिमको कोषले बालबालिकाहरूलाई विभिन्न सीप सिकाउन सकिने बताइन् । कोषको स्थापना गर्नुपूर्व नै आश्रमका दुई जना किशोरीले सिलाइकटाइ तालिम लिइरहेका छन् ।