धरान/हिपपप डान्सलाई प्रवर्ध्दन गर्न ५ जना हिपपप डान्सरहरूले ‘दी जर्नी डान्स क्याम्प’ सञ्चालन गरिरहेका छन् ।
यसक्रममा धरानमा दुई दिने डान्स क्याम्प आइतबार सम्पन्न गरेको छ । हाम्रो डान्स सेन्टरको संयोजनमा भएको डान्स क्याम्पमा ३५ जना सहभागी भए । उनीहरूलाई हिपपप डान्सका विभिन्न टेक्निकबारे जानकारी प्रदान गरिएको हाम्रो डान्स सेन्टरकी अध्यक्ष रेश्मा राईले बताइन् । नेपाल डान्स शिक्षकहरूले पनि विदेशी प्रशिक्षकझैं डान्सबारे प्रशिक्षण गराउन सक्छन् भन्ने उद्देश्यअनुरूप जर्नी शुरु गरिएको जर्नीमा सहभागी प्रशिक्षकमध्येका सुभम भुजेलले बताए ।
उनले अर्वन टेक्निक कोरियोग्राफी प्रदान गरिरहेको बताए । ‘हिपपपलाई हरेक डान्समा लागू गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार देशका ८ वटा शहरहरूमा जर्नी डान्स क्याम्प जारी छ । हाल धनगढी, कोहलपुर र धरानमा सम्पन्न भइसकेको छ भने विराटचौक, विराटनगर, पोखरा, चितवन, र काठमाडौंमा बाँकी छ । डान्सलाई अभिभावकहरूले गलत रूपमा लिने भएकाले त्यो मानसिकतालाई पनि परिवर्तन गर्न यो जर्नीको उद्देश्य रहेको उनले बताए । जर्नीमा प्रशान्त तामाङ, सुभम भुजेल, मुकेश ढकाल, एलेक्स बिक, र सूर्य योञ्जन सहभागी छन् ।