पाँचथर/ जिल्लास्थित मेची राजमार्गसँगै विभिन्न ग्रामीण सडकहरूमा सडकको क्षेत्राधिकार मिचेर व्यवसायीले गोलिया राख्दा सवारी साधनका चालक र यात्रुले सकस भोग्नु परेको छ ।

व्यवसायीले जिल्लाका कच्ची र साँघुरा ग्रामीण सडकहरूमा सवारी साधन आवत–जावतमै समस्या हुने गरी गोलिया राख्ने गरेको चालक र यात्रुले गुनासो गरेका छन् । त्यस्तै मेची राजमार्गको विभिन्न स्थानमा समेत व्यवसायीले त्यसरी गोलिया थुपार्ने गरेका छन् । सडकको छेउभित्ता राखिएका गोलियाका कारण सकसपूर्ण रूपमा बाटो छिचोल्नुपर्ने बाध्यता रहेको चालक राजु ढुङ्गेलले बताए ।

कच्ची र साँघुरा सडक, त्यसमा पनि सडक नै मिचेर गोलिया राख्दा मोटरसाइकलमा यात्रा गर्न पनि गाह्रो हुने फिदिम–५ का सुवास तुम्बापोले बताए । जिल्लाको कान्छीदोकान–रामकर्णे–नवमीडाँडा, पौवाभञ्ज्याङ–इथुङ–लुङरुप्पा, राँके–रविलगायतका अधिकांश ग्रामीण सडकसँगै मेची राजमार्गका विभिन्न स्थानमा समेत व्यवसायीले सडकको क्षेत्राधिकार मिचेर गोलिया राख्ने गरेको चालक र यात्रुको गुनासो छ ।

नियम विपरीत सडकमा गोलिया थुपार्दा सवारी साधनहरू साइड हुनसमेत समस्या हुने गरेको चालकहरूको गुनासो छ । उक्त समस्या समाधानका लागि स्थानीय प्रशासन, वन कार्यालय, ट्राफिक प्रहरी र जनप्रनिधिहरूले ठोस काम गर्न नसकेको उनीहरूको गुनासो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका इञ्चार्ज जनक तिम्सिनाले सडकका दायाँ–बायाँ दुर्घटनाको जोखिम निम्तिने गरी गोलिया राख्ने गरेको पाइएकाले समस्या समाधानको लागि पहल गरिरहेको बताए ।

डिभिजन वन कार्यालय पाँचथरका डिभिजन वन अधिकृत मेगराज राईले पनि व्यवसायीलाई गोलिया राख्ने निश्चित ठाउँ तोकिदिएको बताए । यसबारे व्यवसायीलाई पत्राचारै गरेर सचेत गराइएको राईको भनाइ छ । आगामी दिनमा पनि जथाभावी राखिएका गोलिया व्यवसायीले नहटाए त्यस्ता गोलिया जफत गर्ने राईले चेतावनी दिए ।

राष्ट्रिय वन पैदावार व्यवसायी सङ्घ पाँचथरका अध्यक्ष सूर्य मगरले भने सम्बन्धित निकायले तोकिदिएकै ठाउँमा व्यवसायीले गोलिया राख्ने गरेको बताए । केही व्यवसायीले सडकलाई असर नपर्ने गरी आफै ठाउँ बनाएर पनि राख्ने गरेको बताए । केही सडकहरूमा भने समस्या रहेको स्वीकार्र्दै त्यसको समाधान गर्न सङ्घले व्यवसायीसँग समन्वय गरिरहेको उनको भनाइ छ ।