इटहरी/ साँझमा बजार बन्द हुँदा इटहरी सुनसान हुँदै गएको भन्दै इटहरीमा रात्रीकालीन बजार लगाउने विषयले प्राथमिकता पाएको छ ।

इटहरी चोक आसपासको क्षेत्रमा साँझमै बन्द हुने गुनासो बढेसँगै इटहरी उपमहानगरपालिकाले रात्रीकालीन बजार लगाउने कार्य शुरु गरेको हो ।

इटहरी नगरसभाले शहरको मुख्य क्षेत्रको रूपमा इटहरी चोकको सौन्दर्य बढाउन नमूना रात्रीबजार लगाउने भन्दै ४० लाख रुपैयाँ छुट्याएको थियो । त्यहीअनुरूप अहिले बजार लगाउन इटहरीको आइतबारेमा धमाधम काम भइरहेको छ । सडकको स्तरोन्नतिसँगै आवश्यक भौतिक संरचनाहरूको समेत व्यवस्था शुरु भएको हो । इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजार लगाउने विषयमा गम्भीर भएर काम शुरु भएको बताउँछिन् इटहरीकी उपप्रमुख लक्ष्मी गौतम । उनी भन्छिन्, ‘इटहरीमा नमूना रात्रिबजारको काम तीव्र गतिमा हुँदै छ ।’ रात्रीकालीन बजार शहरको पहिचान र प्रतिष्ठाको विषय भएकाले यो गौरवको आयोजना भएको उनी बताउँछिन् ।

इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजार इटहरीको बढ्दो शहरीकरण र जनघनत्वले रात्रिबजारको माग गरेको उपमहानगरले रात्रीकालीनबजार लगाउने तयारी तीव्ररूपमा थालेको गौतम बताउँछिन् । इटहरीको आइतबारेदेखि नेपाल टेलिकमसम्म रात्रिबजार लगाउने निर्णय भएको थियो । सो निर्णयको कार्यान्वयनको लागि नगरपालिकाले थप पहल थालेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । साँझ पर्नासाथ प्रहरीले सडकमा व्यापार गर्ने तथा सटरमा व्यापार गर्नेलाई हप्काउन थाल्ने हुनाले यो विषय कार्यान्वयन गराउन व्यवसायीहरूले माग समेत गरेका छन् ।

इटहरी वडानम्बर ४ का वडासचिव पोक्षण पोखरेलले रात्रीकालीन बजारको काम तीव्र रूपमा भइरहेको बताए । अहिले सडक बत्तीदेखि बाटो निर्माणसम्मको काम भइरहेको उनी बताउँछन् । इटहरी–४ आइतबारे क्षेत्रमा बजार लगाउन तयारी गरिरहेको बताए । बजार सञ्चालनका लागि उद्योगी, व्यवसायी, स्थानीयहरूसँग छलफल गरेको उनको भनाइ थियो ।

आइतबारे लाइनमा सौर्य बत्ती, सिसिटिभी क्यामेरा जडान, सार्वजनिक शौचालय र प्रहरी बिटसमेत निर्माण गर्ने तयारी थालिएको छ । बजारमा अत्यावश्यक सामानहरूसहित मनोरञ्जन, खानेकुराको पसल सञ्चालन गरिने योजना रहेको छ । यता उद्योग वाणिज्य सङ्घको अध्यक्षका उम्मेदवार भीम पौडेलले रात्रीकालीनबजार इटहरीमा लगाउनु आवश्यक भएको बताउँछन् । बजारलाई व्यवस्थित गरेर लगाउनु इटहरीको आवश्यकता रहेको उनले बताए । ‘अध्यक्ष भएँ भने आगामी दिनमा रात्रीकालीन बजार र व्यापारीहरूको पक्षमा लाग्नेछु’–पौडेलले भने ।

अर्का अध्यक्षका उम्मेदवार शैलेस विष्टले पनि रात्रीकालीन बजार लगाउनु इटहरीको आवश्यकता भएको बताउँदै आफू सधँै व्यापारीको पक्षमा रहेको बताएका छन् । यसअघि पनि उद्योग वाणिज्य सङ्घको नेतृत्व लिने क्रममा चुनावी घोषणा–पत्रमै इटहरीलाई कहिल्यै नसुत्ने शहर बनाइने वाचा गरिएको थियो । तर, निर्वाचनपछि सेलाएको रात्रीकालीन बजारको विषयले अहिलेमात्र चर्चा पाउन थालेको छ ।

इटहरीमा दिउँसो लाग्ने बजार पनि व्यवस्थित छैन । दिउँसो लाग्ने बजारमै सडक अतिक्रमण हुने गरेको छ । यस्तो अवस्थामा रात्रीबजार लाग्ने विषयमा आशङ्काव्यक्त गर्छन् स्थानीयवासी । ‘उपभोक्ता हितको हिसाबले पनि रात्रीकालीन बजार लगाउनु सकारात्मक हो’ तर ‘हचुवाको भरमा बजार व्यवस्थापन हुन गाह्रो छ । त्यसैले इटहरीमा लाग्न लागेको रात्रीबजारलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउनु पर्छ ।