भण्टावारी/ सुनसरीको कोशी गाउँपालिका क्षेत्रका मुस्लिम समुदाय लागूऔषध विरुद्धको अभियानमा जुटेका छन् । हरिपुर, श्रीपुर र लौकहीको नाका हुँदै भारतीय बजारमा गएर लागूऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै कोशी क्षेत्रका मुस्लिम समुदाय त्यसलाई न्यूनीकरण गर्न लागूऔषध विरुद्धको अभियानमा जुटेका हुन ।
लागूऔषध सेवनले घरपरिवार मात्रै नभई समाजमै नकारात्मक प्रभाव पर्ने भएको हुँदा आफूहरू लागूऔषध विरुद्ध अभियानमा लागेको कोशी गाउँपालिका वार्ड नम्बर ५ का अध्यक्ष शाह जमालले बताए । लागूऔषध विरुद्धको अभियान लाई प्रभावकारी बनाउन शनिबार ५ नम्बर वडा कार्यालयको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टावारी र बिओपी लौकहीको संयुक्त सहकार्यमा विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम गरिएको वडाध्यक्ष शाह जमालले बताए ।
मुस्लिम विद्यार्थी तथा युवायुवतीलाई लागूऔषधको बारेमा जागरुक गराउने उद्देश्यले कोशी गाउँपालिका वार्ड ५मा रहेको मदरसा दारुलहुँदा अलसल्फियामा लागूऔषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको उनले बताए । उक्त मदरसा तथा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत मुस्लिम तथा पिछडिएका ८० जनाभन्दा बढी सहभागी रहेको कार्यक्रममा बिओपी लौकहीका इन्स्पेक्टर आनबहादुर गुरुङ र बिओपी भण्टाबारीका इन्स्पेक्टर सुरेन्द्रबहादुर भण्डारीले प्रशिक्षण दिएका थिए । विद्यार्थी तथा युवायुवतीलाई उनीहरूले लागूऔषधका दुव्र्यसनी, यसबाट पर्ने असरहरू, ओसारपसार, कानूनी सजायसहितका विषयमा जानकारी गराएको आयोजकले जनाएको छ ।
पछिल्लो समयमा भण्टाबारी र लौकही नाकामा सुरक्षाकर्मीले कडाइ गरेपछि श्रीपुरको नाका हुँदै लागूऔषध सेवनकर्ताहरू वीरपुर, भीमनगरसहित भारतीय बजार जाने क्रममा बढेको वडाध्यक्ष शाह जमालले बताए । बाहिर बाट आएका लागूऔषध सेवनकर्ताले स्थानीय विद्यार्थी तथा युवा अवस्थाका व्यक्तिलाई नकारात्मक प्रभाव पर्ने भन्दै यसप्रति शाह जमालले सीमा क्षेत्रका सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराए । लागूऔषध मानव स्वास्थ्य र समाजकै लागि हानिकारक भएको बताउँदै शाह जमालले सबैको संयुक्त प्रयासले यसको न्यूनीकरण सम्भव रहेको बताए ।
भारतसँगको खुला सीमाले सुनसरीमा लागूऔषध सेवन तथा ओसारपसार बढेको बिओपी भण्टाबारीका इन्स्पेक्टर सुरेन्द्रबहादुर भण्डारीले बताए । विद्यालयमा धेरै पटक लागूऔषध सम्बन्धी कार्यक्रमहरू भए पनि मुस्लिम बाहुल्य क्षेत्र भएकाले मदरसामा समेत कार्यक्रम निरन्तर आयोजना हुन आवश्यक रहेकोे बिओपी लौकहीका इन्स्पेक्टर आनबहादुर गुरुङले बताए । कार्यक्रम बाट सिकेका कुरा दैनिक जीवनमा उतार्न तथा साथीभाइलाई समेत जानकारी गराउन सहभागी विद्यार्थी तथा युवायुवतीलाई इन्स्पेक्टर गुरुङले आग्रह गरे ।